काठमाडौं, साउन १६ :

अन्तर्राष्ट्रिय खुला समर क्याम्प २०२५ मा सहभागी हुन मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जन शुक्रबार जर्मनी प्रस्थान गरेका छन् ।

उनलाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले शुक्रबारै बिदाइ गरे । जर्मनी क्लबका अध्यक्ष हसन हेनले उक्त क्याम्पका लागि मार्सल आर्ट अर्गनाइजेसन नेपाललाई निमन्त्रणा दिएका हुन् ।

नेपाललगायत स्पेन, पोल्यान्ड, स्विडेन र जर्मनी प्रशिक्षार्थीको सहभागिता रहने समर क्याम्पमा मार्सल आर्ट्सका तौरतरिका मात्र नभएर सहभागी देशको संस्कृतिसमेत आपसमा साटिने र यी देशबीच भाइचारा तथा मित्रता बढ्ने कुरा प्रशिक्षक महर्जनले बताए ।

विगतका क्याम्पमा सहभागिता जनाउँदै आएका प्रशिक्षक महर्जनले जर्मनीमा नेपालको प्रतिनिधित्व मात्र गरेनन् उनले आफूसँग भएको मार्सल आर्टको ज्ञान र नेपालको संस्कृति पनि प्रस्तुत गरे ।

कीर्तिपुर नगरपालिका र जर्मनीको लुबिज नगरपालिकाबीचको सहकार्यमा नेपालबाट महर्जनले एक साता सञ्चानल हुने क्याम्पमा सहभागिता जनाउन लागेको बताइएको छ ।

आयोजक क्लबका प्रशिक्षक हसन हेनले विभिन्न समयमा नेपाल आएर प्रशिक्षणसमेत दिएका छन् । दुई देशबीचको यो मार्सल आर्टका कलाकौशल प्रशिक्षण दिने कार्यले दुवै देशको मार्सल आर्ट्समा विकास हुँदै आइरहेको महर्जन बताउँछन् ।