काठमाडाैं, साउन १७ :

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्ने बताएका छन् । महासचिव पोखरेलले परम्परागत निर्वाहमुखी काम गरेर देश समृद्ध नहुने बताए ।

रिटर्नी फेडेरेशन नेपालले केही स्वदेशी लगानीकर्ताको सामूहिक लगानीमा स्थापना गरिएको ‘नवयुग इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को थालनी गर्दै उनले देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्ने धारणा राखे ।

महासचिव पोखरेलले नेपाल भित्रिने रेमिट्यान्सको अधिकांश हिस्सा नेपाल आएर काम गर्ने भारतीय कामदारले नै लैजाने गरेका बताए ।

‘म बनाउँछु मेरो देश’ भन्ने भावनाका साथ लाग्ने हो भने नेपाललाई समृद्ध मुलुक बनाउन सकिने उनको भनाइ छ ।

‘अर्थतन्त्रमा निर्वाहमुखी, पारिवारिक उत्पादनमुखी, गुजारामुखी ढाँचाको रहेको छ । औद्योगिक क्षेत्र पनि कर्पोरेट कल्चरमा ढालिएकै छैन, ’ उनले भने, ‘कम्पनी साँच्चै पब्लिक बन्न सकेका छैनन् ।’

महासचिव पोखरेलले नेपाल चर्चा गरिएको जस्तो गरिब मुलुक नभएको दाबी गरे ।