.jpg)
पछिल्लो समय नेपालका अधिकांश राजनीतिक दलहरू आन्तरिक कलह, गुटबन्दी र नेतृत्व संकटको घेरामा छन्। सत्ता,पदको मोह र व्यक्तिकेन्द्रित राजनीतिले दलहरू कमजोर बन्दै गएका छन् ।
साना होस् या ठुला, पुराना होस् या नयाँ नेपाली राजनीति अहिले आन्तरिक विभाजन, गुटबन्दी र नेतृत्वको अनियन्त्रित सत्तामोहको भूमरीमा फसेको छ। विचार, निष्ठा र समावेशिताको स्थान व्यक्तिगत स्वार्थ, वर्चस्वको राजनीति र आत्मघाती प्रतिस्पर्धाले लिएको स्पष्ट देखिन्छ। यस्ता कलहहरू पार्टीको अस्तित्व, विश्वसनीयता र जनसमर्थन दुवैलाई कमजोर बनाउँदै लगेका छन्।
एमालेमा विद्या भण्डारीको त्रास
प्रमुख सत्तारुढ दल नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीमा रहेर राजनीतिक गर्न खोजेपछि एमालेमा पनि यसले विवाद उत्पन्न गराएको छ । एमालेले केन्द्रीय कमिटी बैठकबाट हतारहतार गर्दै पूर्वराष्ट्रपति भण्डारीका लागि झयालढोका थुने पनि यसले एमालेभित्र भुसको आगो झै अध्यक्ष केपी ओलोविरुद्ध असन्तुष्टि चुलिन थालेको छ । भण्डारी रणनीतिक रुपमा अगाडि बढि सकेकी छिन् ।
कांग्रेसमा देउवा-शेखर द्वन्द्व झनै चर्किंदै
नेपाली कांग्रेस पनि आन्तरिक द्वन्द्वबाट मुक्त छैन। सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीचको विचार र रणनीतिगत दूरीले पार्टीमा स्पष्ट दुई धार सृजना गरेको छ। यसर्थ कांग्रेसमा पनि प्रष्टैसँग दुई गुट देखिन्छ ।
माओवादी केन्द्र : 'प्रचण्ड एकलवाद' विरुद्ध जनार्दनको असन्तुष्टि
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीभित्रको नेतृत्वलाई प्रष्ट रूपमै चुनौती दिइरहेका छन्। उनले पार्टीप्रति जनताको आकर्षण घट्नुमा नेतृत्वको कमजोरी जिम्मेवार रहेको टिप्पणी गरेका छन्। अध्यक्ष प्रचण्डले भने “गल्ती गर्नेले आत्मालोचना गर्नुपर्छ” भन्दै घुमाइफिराइ जनार्दनकै आलोचना गरेका छन्। पार्टीमा प्रचण्डतर्फ पदाधिकारीहरूको झुकाव भएपछि जनार्दन जस्ता वरिष्ठ नेताले आफूलाई पार्टीमा एक्लो महसुस गर्न थालेका छन्।
रास्वपामा रविको 'एकल नियन्त्रण' को आलोचना
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि गम्भीर अन्तरिक विवादको चपेटामा परेको छ। पार्टी अध्यक्ष रवि लामिछाने जेलमा रहँदा समेत आफूलाई संसदीय दलको नेताको रूपमा कायम राखेका छन्। यो एकल नियन्त्रणको शैली पार्टीभित्रै आलोचित बनेको छ। विचार र प्रक्रिया भन्दा व्यक्ति विशेषको वरिपरि केन्द्रित शक्ति संरचनाले नवोदित पार्टीको लोकतान्त्रिक चरित्रमाथि प्रश्न उठाउन थालेको छ।
राप्रपामा नेतृत्वको 'मनपरी' विरुद्ध असन्तुष्टहरू एकजुट
पाँचौँ ठुलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि अध्यक्ष राजेन्द्र लिङ्देनको एकल निर्णयप्रति विरोध चर्किएको छ। धवलशम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र जस्ता नेताहरू लिङ्देनको मनपरी निर्णय विरुद्ध खुलेर उत्रिएका छन्। विरोधीलाई कारबाही गरेर चुप लागाउने रणनीति उल्टै नेतृत्वमाथि नै घातक सावित हुँदै गएको छ।
एकीकृत समाजवादीमा 'माधव–झलनाथ' युद्ध
नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको वैचारिक टकराव अहिलेसम्मकै गम्भीर मोडमा पुगेको देखिन्छ। सार्वजनिक रूपमै माधवले झलनाथलाई बस्न मन नलागे पार्टी छोड्न सकिने भनेपछि विवादले गहिरो रुप लिएको छ। एक अर्कालाई तुच्छ बोल्ने अवस्था आएपछि यो पार्टी सशक्त विकल्प बन्ने दाबीभन्दा धेरै आन्तरिक द्वन्द्वमै फसिएको अनुभूति दिन थालिएको छ।
नागरिक उन्मुक्ति पार्टी : 'घरभित्रकै घम्साघम्सी'
नवोदित नागरिक उन्मुक्ति पार्टी (नाउपा) परिवारिक सत्तालिप्साको नमुना झल्किएको छ। संस्थापक रेशम चौधरीले पत्नी रञ्जिता चौधरीबाट अध्यक्षता खोसेर आफ्ना बुबा लालवीर चौधरीलाई नियुक्त गरेपछि पार्टीभित्र गहिरो संकट उत्पन्न भएको छ। रञ्जिताविरुद्ध नजिकका नेताहरू परिचालित गरी ससुरालाई अध्यक्ष बनाइनुले पार्टीभित्र नैतिकताको संकट उत्पन्न भएको छ। यदि दलहरू अझै सचेत भएनन् भने, आन्तरिक विवादले तिनका अस्तित्वमाथि नै खतरा उत्पन्न गराउन सक्छ। समयमै सुधार नगरे राजनीतिक दलहरू जनताबाट टाढिँदै जान्छन्, जुन लोकतन्त्रको लागि सबैभन्दा घातक मानिन्छ।