
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताउनुभएको हो ।
शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएकाले यस अवस्थाबाट मुक्त गर्नका लागि २०८१ भित्रै बालबालिकालाई सडकमा बस्नुपर्ने परिस्थितिबाट मुक्त गर्ने अठोट ब्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न बालमैत्री वातावरण बनाउन सरकार लागिपरेको बताउनुभएको छ ।
'बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी' भन्ने नाराका साथ आज ६०औँ राष्ट्रिय बाल दिवस देशव्यापी रुपमा मनाइरहेका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण बालबालिका तथा बालबालिका अभिभावकहरुलाई प्रधानमन्त्री ओलीले हार्दिक बधाई तथा शुभकामना दिनुभएको छ ।
६०औँ बाल दिवस मनाइरहँदा बालबालिकाले पाउनुपर्ने बालअधिकार, माया, ममता, स्नेह, स्वास्थ्य, शिक्षा, मनोरञ्जन पाउन नसकेको प्रधानमन्त्रलीले सन्देशमा उल्लेख गर्नुभएको छ ।
उहाँले ठूलो सङ्ख्यामा बालबालिकाहरु कुपोषणको सिकार भइरहेको र विद्यालय जानबाट वञ्चित रहेको भन्दै यस अवस्थाबाट बालबालिकालाई बाहिर निकाल्नुपर्नेमा जोड दिनुभएको छ ।