काठमाडौं, साउन २१ :

पाँचौं खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय वादोरियो कराते टोली आज (बुधबार) श्रीलंकाको रत्नापुरा जाने भएको छ ।

अगस्त ७ र ८ तारिखमा हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेङ थोक्रा, ५२ केजीमुनि निशान घले र ४० केजीमुनि आरोन शेरचनले प्रतिस्पर्धा गर्नेछन् । महिला ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा मगरले खेल्ने छन् ।

प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसी तथा अफिसियलमा राजकुमार कार्की छन् ।

टोलीलाई पूर्वप्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वमन्त्री शक्ति बस्नेतलगायतले खुमलटारमा हिजो (मंगलबार) एक कार्यक्रमबीच बिदाइ गरे । त्यस अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलालगायतको उपस्थिति थियो ।

अध्यक्ष दाहालले वादोरिायो करातेले विगतजस्तै यो प्रतियोगितामा पनि पदक जित्ने विश्वास व्यक्त गर्दै सफलताका लागि शुभकामना दिए ।