काठमाण्डौँ , भदौ ३१ :

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जापानिज इन्सेफ्लाइटिसले अहिलेसम्म १४ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

अहिलेसम्म ६१ जनालाई जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण देखिएको छ । ती सबैको नमूना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो ।

उहाँले भदौ १५ देखि असोज १५ सम्म जापानिज इन्सेफ्लाइटिस्को उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

सामान्यता साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिस देखिन्छ तर जापानिज इन्सेफ्लाइटिस सार्ने पोथी प्रजातिको ‘क्युलेक्स’ लामखुट्टेले पानी जम्ने र फुल पार्ने भएकाले असोज १५ गतेसम्म जोखिम नै रहेको डा. गौतमको रहेको छ । 

जापानिज इन्सेफ्लाइटिस् ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेले टोकेको ६ देखि १६ दिनसम्म लक्षण देखापर्ने डा गौतमले बताउनुभयो ।

सरकारले सन् २०१६ देखि नै जन्मेको १२ महिनाका बालबालिकालाई जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप दिँदै आएको छ । 

लामखुट्टेले टोकेपछि बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षघात हुने, घाँटी कडा हुने,  कम्पन हुनेजस्ता समस्या देखिने गर्दछ ।

लामखुट्टेको टोकाइबाट बच्न झूल टाँगेर मात्र सुत्ने, हाँस, कुखुरा, सुँगुरजस्ता घरपालुवा जनावरलाई घरदेखि टाढा राख्ने, घरबाहिर निस्कँदा वा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको लुगा लगाउने, घरको झ्याल, ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे बृद्धि हुने भएकाले घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टे भगाउने धूप बाल्ने वा मलम लगाउन डाक्टरको सुझाव छ।