काठमाडौं, साउन ३१ :

भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथिको छलफल प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा मात्र दुई मिनेटमै स्थगित भएको छ।

समितिको बैठक आज बिहान १०:३० बजेका लागि बोलाइएको थियो। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी समयमै उपस्थित भई सांसदहरूसँग करिब एक घण्टा आन्तरिक छलफलमा संलग्न भए। छलफलपछि मन्त्री बाहिरिएपछि मात्र औपचारिक बैठक सुरु भएको थियो।

बैठकमा सभापति कुसुमदेवी थापाले विधेयकको प्रतिवेदन तयार भएको भए पनि थप अध्ययन आवश्यक रहेको भन्दै छलफल अर्को बैठकमा गर्ने बताइन्।

समितिका सचिव शिवदत्त बरालले प्रतिनिधि सभाको बैठक भदौ ४ गते हुने भएकाले त्यसको केही दिनअघि   बैठक बस्न सक्ने जानकारी दिए।