काठमाडौं, भदौ ८ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाली समाजको मौलिकता र सांस्कृतिक अस्तित्व जोगाउने जिम्मेवारी सबैको काँधमा रहेको बताएका छन् ।

नेपाल विद्यार्थी संघ, पशुपति बहुमुखी क्याम्पस एकाइ समितिले आयोजना गरेको हरितालिका तिजका अवसरमा आयोजित बृहत् सांस्कृतिक तथा दर खाने कार्यक्रममा उनले तिजलाई केवल महिलाको पर्व नभई समाजलाई अनुशासित, मर्यादित र आस्थासँग जोड्ने माध्यमका रूपमा लिनुपर्ने बताए ।

‘कुनै धातु तरल अवस्थामा रहँदा जसरी पाइएको फ्रेमअनुसार आकार लिन्छ, विद्यार्थी पनि आजको दिनमा आफैंलाई जसरी तयार गर्छन्, त्यसरी नै भविष्य निर्माण हुन्छ । त्यसैले धर्म, संस्कृति र समाजको रक्षा गर्दै योग्य नागरिक बन्नु तपाईंहरूको जिम्मेवारी हो,’ उनले भने, ‘तिज अब दाजुभाइ, आमा-दिदी-बहिनी सबैले मिलेर मनाउने साझा पर्वका रूपमा स्थापित हुँदै गएको छ ।’

कार्यक्रममा योगमाया आयुर्वेद विश्वविद्यालयका उपकुलपति डा. रमेश ढुंगेलले तिजजस्ता सांस्कृतिक पर्वले नेपाललाई विश्वमञ्चमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । उनले भने, ‘हाम्रा पर्वहरूले राष्ट्रिय पहिचानलाई निरन्तरता दिने मात्र होइन, विविधतामूलक संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अवसर पनि प्रदान गर्छन् ।’

क्याम्पस एकाए समिति अध्यक्ष सरोज लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा वक्ता गीता गुरुङले तिजलाई सबै जातजाति र भाषा-भाषीबीच साझा पर्वका रूपमा विस्तार हुँदै गएको बताउँदै महिलाहरूलाई अझै पनि आसन, भाषण र शासनमा उचित स्थान नपाएकामा चिन्ता जनाइन् ।

क्याम्पस प्रमुख विनोद पन्तले विद्यार्थीलाई सांस्कृतिक चेतना, अनुशासन र ज्ञानसँगै अगाडि बढ्न आग्रह गरे । कार्यक्रममा नृत्य, गीत तथा दर खाने सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो । सहभागीहरूले तिजलाई महिला सशक्तीकरण मात्र नभई सामाजिक सद्भाव र सहकार्यको पर्वका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।