ललितपुर, भदौ ९ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल पर्वतारोहण संघ (एनएमए) को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका छन् ।

खुमलटारस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा उनले सत्तारुढ कांग्रेस, एमाले र समाजवादी पार्टीसहितको गठबन्धनलाई पराजित गर्दै विजयी बनेको माओवादी केन्द्रसमेतको गठबन्धनको अध्यक्ष फुर्वा गेल्जे शेर्पा नेतृत्वको प्यानललाई बधाई दिएको दाहालको सचिवालयले जनाएको छ ।

बधाई दिने क्रममा दाहालले पर्वतीय पर्यटन व्यवसायको विकासमा संघले महत्त्वपूर्ण योगदान दिनसक्ने विश्वास व्यक्त गरे । ‘नेपालमा पर्वतीय पर्यटन व्यवसायको विकास हुनुपर्छ । अहिले निर्वाचित हुनुभएको अध्यक्षलगायत सम्पूर्ण पदाधिकारी र निर्वाचन प्रक्रियामा सहयोग गर्ने सबैलाई हाम्रो पार्टी र मेरो तर्फबाट हार्दिक बधाई दिन चाहन्छु । एनएमएलाई अझ सशक्त र प्रभावकारी संस्थाका रूपमा अगाडि बढाउन तपाईंहरूको भूमिकामा मेरो पूर्ण समर्थन रहनेछ ।’

अध्यक्ष दाहालले आफ्नो व्यक्तिगत अनुभव र एनएमएसँगको लामो सम्बन्ध उल्लेख गर्दै पर्वतारोहण र पर्यटन प्रवर्द्धनका लागि सरकारले पनि सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले हाल अन्तिम चरणमा पुगेको पर्यटन सम्बन्धित विधेयक पारित गराउन आफूले सक्रिय भूमिका खेल्ने प्रतिज्ञा पनि गरे ।

एनएमएको निर्वाचनमा अध्यक्ष फुर्वा गेल्जे शेर्पा नेतृत्वको प्यानल विजयी भएको थियो । एक उपाध्यक्ष र एक सदस्यबाहेकका सबै पदमा शेर्पा प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।