काठमाण्डौँ , असोज १ :

नेपाल प्रहरीले छ लाख ९६ हजार पाँच सय बराबरको भन्सार राजस्व छलीका सामान नियन्त्रणमा लिएको छ । 

काठमाडौँ उपत्यका बाहिरबाट आउने यात्रुवाहक सार्वजनिक सवारी साधनले विभिन्न किसिमका सामान बिना कागजात बिजबिजक ल्याउने गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उक्त सामग्री नियन्त्रणमा लिएको हो ।

शनिबार कलङ्की- नागढुङ्गा मूल सडक खण्डमा विभिन्न सवारी साधनलाई जाँच गर्दा भिन्दाभिन्दै सवारीसाधनले बोकी ल्याएको सामानको धनी यकिन नभएको अवस्थामा उक्त सामग्री फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका उक्त सामान  त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौँमा बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

बरामद गरिएका सामानमा विभिन्न आइफोन, रेड्मी, सामसुङ तथा ओप्पो कम्पनीका मोबाइल २८ थान अन्दाजी मूल्य दुई लाख, काजु २६ बाल्टिन र एक प्याक गरी दुई सय ८० किलोको अन्दाजी मूल्य दुई लाख ८० हजार रहेका छन् ।

यसैगरी खाने बदाम, रोलको कपडा, फोटो राख्ने फ्रेम , फेन्सी कपडा रहेको प्रहरीले जनाएको छ ।