काठमाडौं, भदौ १४ :

नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलिया (एसए)सँगको अभ्यास वान डे खेलमा जित हासिल गरेको छ । शनिबार भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले अविजित १०१ रन बनाए । १६१ रनमा ८ विकेट गुमेको अवस्थाबाट रोहित र सोमपाल कामीले अर्धशतकीय साझेदारी गरे । सोमपाल ४० रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा २४२ रनमा अलआउट हुँदै नेपाललाई २४३ रनको लक्ष्य दिएको हो ।टप एन्ड टी-२० सिरिज समाप्त भएपछि अभ्यास टी-२० भएको हो ।