काठमाण्डौँ , असोज १ :

सरकारले हवाई दुर्घटना जाँचका लागि अधिकारसम्पन्न उच्चस्तरीय समिति बनाउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अहिलेसम्म भएका हवाई दुर्घटनामा बनेका जाँच आयोगका प्रतिवेदनले उठाएका सवालबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाउने जानकारी दिनुभयो ।
    
मन्त्रालयमा आज सञ्चारकर्मीसँग अन्तरक्रियामा उहाँले न्यायिक क्षेत्रका व्यक्तिको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाउने र समितिले उठाएका विषयलाई सरकारले कार्यान्वयन गर्ने बताउनुभयो ।

उक्त प्रयोजनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भइसकेको र चाँडै सार्वजनिक गरिने जानकारी दिनुभयो ।
    
मन्त्री पाण्डेले पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति गठन हुने जानकारी दिनुभयो । 

नागरिक उड्डयन क्षेत्रमा उच्चस्तरीय समिति बनाउने गरी अहिले प्रक्रिया अगाडि बढेको भन्दै उक्त समितिले अहिलेसम्म भएका अध्ययनको पुनरावलोकन गर्ने र प्रणालीगत रूपमै समस्या छ की भनेर समीक्षा गरेर सरकारलाई आवश्यक सिफारिस दिने बताउनुभयो ।

उहाँले अबको अध्ययन पुराना अध्ययनलाई समेत आधार मानेर अहिलेको अध्ययनलाई निष्कर्षमा निकाल्ने उल्लेख गर्नुभयो ।