
निजी विद्यालय सञ्चालकहरू आज सडक आन्दोलनमा उत्रदैछन् ।
सदनमा छलफलका लागी पुगेको विद्यालय शिक्षा विधेयकमा समावेश प्रावधानहरु निजी विद्यालयको मर्म र हित विपरित रहेको भन्दै सच्चाउनका लागि माग गर्दै निजी विद्यालय सञ्चालकहरुले सडक आन्दोलन गर्न लागेका हुन् ।
उक्त आन्दोलन अनुसार आज देशै भरिका स्कूल बसहरूमा कालोझण्डा (व्यानर)सहित विद्यालयको पायक पर्ने चोकमा उतारेर नगर परिक्रममा गर्न लागिएको प्याबसनका अध्यक्ष कृष्ण अधिकारीले बताए ।
निजी विद्यालयका छाता संगठनहरू प्याब्सन,एनप्याब्सन,हिसान र अपेनले शिक्षा विधेयकमा समावेश निजी विद्यालयलाई गैर नाफामूलक बनाउने,पूर्ण छात्रवृत्ति दिइने लगायतका प्रावधान समेटिएकोले ती शब्द र वाक्यांश हटाउनुपर्ने माग सहित निरन्तर आन्दोलनमा छन् ।
अध्यक्ष अधिकारीका अनुसार दोस्रो चरणको आन्दोलन अन्तर्गत आज देशैभरका स्कुलबस बिहान ११ बजे सडकमा उतार्ने तयारी छ, उनले भने, ‘आज विहान ११ बजे देशैभरिका स्कूलबसहरूमा कालोझण्डा(व्यानर)सहित विद्यालयको पायक पर्ने चोकमा उतारेर नगर परिक्रममा गर्दैछौं। काठमाडौं उपत्यकाको हकमा २७ किमी चक्रपथ वरिपरि तथा जिल्लाहरूमा प्रतिघण्टा २० किमीको गतिमा भव्य र्याली गर्ने तयारी गरिएको उनले बताए ।
यससँगै भोली आगामी कार्यक्रमका लागि आ–आफ्ना संस्थाहरूले व्यापक तयारी तथा समीक्षा बैठक गर्ने बताएको छ । त्यसपछी पर्सि भाद्र १८ गते बिहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत खबरदारी सभा र उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई र्याली हुँदै कोण सभामा परिणत हुने गरी तालिका नै बनाईसकेको अधिकारीको भनाई छ ।
यदि पर्सि भाद्र १८ गतेसम्म पनि मागको सकारात्मक सुनवाइ नभएमा अनिश्चितकालसम्मका लागि विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गर्ने अधिकारीले बताए।