काठमाण्डौं, भदौ १८ :

प्रधानमन्त्री केपी शर्मा ओली चीनको थियाजिनमा आयोजित संघाइ सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनमा सहभागी भए । मध्य एसिया केन्द्रित यो संगठनको नेपाल संवाद साझेदार राष्ट्र मात्र हो । 

पर्यवेक्षक राष्ट्र बन्ने प्रयासमा रहेको नेपालका प्रधानमन्त्री ओली यो शिखर सम्मेलनमा सहभागी भएर बुधबार स्वदेश फर्कदैछन् । उनको भ्रमणले संगठनमा पर्यवेक्षक राष्ट्र बन्नका लागि महत्वपूर्ण हुने ठानिएको छ ।

परराष्ट्र मामिलाका जानकार डा. गणेशप्रसाद खनालका अनुसार यो संगठनमा तीन तहको सदस्य हुन्छ । पहिलो संवाद साझेदार, दोस्रो पर्यवेक्षक राष्ट्र बनिसकेपछि मात्र पूर्णकालीन सदस्य बनिन्छ । विभिन्न प्रकृया पूरा भएपछि मात्र पूर्णकालीन सदस्य बनाइन्छ । नेपालले सन् २००७ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कूटनीतिक नोटमार्फत् नेपाललाई यो संस्थाको पर्यवेक्षक राष्ट्र बनाउन पहल सुरु भएको थियो । अहिलेसम्म सम्भव भएको छैन ।

पछिल्लो पटक सन् २०१८ मा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पर्यवेक्षक राष्ट्रका लागि अनुरोध गरेका थिए । सन् २००७ बाटै पर्यवेक्षक सदस्य बन्नका लागि पहल भए पनि सन् २०१५  जुलाई १५ मा सम्पन्न रसिया सम्मेलनपछि मात्र संवाद साझेदारका रुपमा नेपाललाई स्वीकृत दिएको थियो । स्वीकृत पाएको ७ वर्षपछि अर्थात् सन् २०२२ मा तत्कालीन परराष्ट्र सचिव शंकरदास वैरागी र एससीओ सचिवबीच हस्ताक्षर भएपछि मात्र संवाद साझेदार राष्ट्रको रुपमा मान्यता पाएको थियो ।

संवाद साझेदार राष्ट्रको हैसियतमा शिखर सम्मेलनमा सहभागी हुन सुरुमा राष्ट्रपति रामचन्द्र पौडेललाई निम्तो आएको थियो । कुटनीतिक मर्यादाको तेस्रो दर्जामा राष्ट्रप्रमुख सहभागी हुन नहुने पक्षमा परराष्ट्र मन्त्रालय देखियो । त्यसपछि राष्ट्रपति पौडेलको भ्रमण क्यान्सिल गरेर अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको टोली शिखर सम्मेलनमा पठाउने तयारी गरिएको थियो ।

शिखर सम्मेलनमा नेपालको उच्चस्तरीय टोलीको अपेक्षा गरेको चिनियाँ दूतावासबाट संकेत आएपछि प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी भएका हुन् । प्रधानमन्त्री ओलीको यो सहभागिताले सम्भवतः एससीओमा नेपाल पर्यवेक्षक राष्ट्रका रुपमा बढुवा हुने सम्भावना बलियो हुनसक्ने कूटनीतिक जानकारहरु बताउँछन् ।

के हो संघाइ सहयोग संगठन ?

सांघाई सहयोग संगठन चीन र रूसको नेतृत्वमा रहेको क्षेत्रीय संगठन हो, जसलाई प्रायः ‘नाटोको विकल्प’ भनिन्छ । एससीओ संगठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् । अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् ।

एससीओमा नेपालको सहभागिता राष्ट्रिय हित, आर्थिक विकास, सुरक्षा सहयोग र कूटनीतिक प्रभावका दृष्टिले ठूलो अवसर ठानिएको छ । अर्को कुरा, नेपाललाई चीनसँगको बीआरआई परियोजना लगायतका धेरै चिनियाँ लगानी तथा सहयोगमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भारतको असहयोग वा असहमति रहिरहेको परिस्थितिमा दुवै छिमेकी देश सदस्य भएको यो फोरम नेपालको लागि हरेक तवरबाट महत्वपूर्ण रहेको छ ।

डा. खनालका अनुसार उत्तरसँगको बहुपक्षीय सहयोगको लागि भारतसहितको यो प्लेटफर्मले नेपाललाई विकास, पूर्वाधार र लगानीमा सहज हुन्छ । साथै, भारतको लागि पनि आफू पनि सदस्य भएको संगठनमा उत्तरी चीनसँगको नेपालका लगानी तथा सहयोग, पूर्वाधार तथा विकास लगानीमा अवरोध पु¥याउन नैतिक संकट निम्तिन्छ । यति मात्र होइन, रूस जस्तो शक्तिशाली मुलुकसँग एउटै बहुपक्षीय मञ्चमा सहभागी हुन पाउनु पनि नेपालको लागि अवसर बन्न सक्छ ।

जनसंख्या, भौगोलिक तथा तीब्र विकास भइरहेको महाशक्ति चीन, भारत र रसियासँगको सहकार्य प्राप्त गर्नु अत्यन्तै महत्वपूर्ण छ, डा. खनालले भने, ‘अहिले संवाद साझेदारको रूपमा रहेको नेपाल भविष्यमा पर्यवक्षक हुँदै पूर्ण सदस्य बन्न पुग्यो भने त्यो अन्तर्राष्ट्रिय कूटनीतिमा नेपालको लागि एउटा नयाँ फड्को सावित हुनेछ ।’

शिखर सम्मेलनमा के गर्यो नेपालले

प्रधानमन्त्री केपी शर्मा ओलीले शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी चिनफिङ, रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

शिखर सम्मेलनलाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्नेमा जोड दिएका थिए । चीनले प्रस्ताव गरेको ग्लोबल गभर्नेन्स इनिसिएटिभ (जिजिआई) ले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर साझा भविष्य र समुदायका लागि अझ न्यायपूर्ण, समावेशी र समतामूलक बनाएर बहुपक्षीय प्रणालीलाई सुदृढ गर्न मद्दत गर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि र नवीनतामा असाधारण प्रगतिको युगमा बाँचिरहेका भए पनि बढ्दो असमानता, आर्थिक अस्थिरता, जलवायु आपतकाल र सीमाविहीन द्वन्द्वहरूका गहिरो विभाजनले प्रगति ओझेलमा परेको उल्लेख गरेका थिए ।

चीनका राष्ट्रपति सीसँगको भेट

चिनियाँ राष्ट्रपति सी जिनपिङ प्रधानमन्त्री ओलीले प्रत्यक्ष संवाद गरेका थिए । भेटमा पछिल्लो समयमा भारत–चीनबीच व्यापारिक सम्झौतामा लिपुलेकको उपयोगबारे कुराकानी भएको थियो । यो विषयको उठानलाई महत्वपूर्ण ठानिएको छ । चिनियाँ राष्ट्रपति सीले न्यायपूर्ण र तर्कसंगत विश्व शासन प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

 

राष्ट्रपति पुटिन नेपाल आउन इच्छुक

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रुस भ्रमणको दुर्लभ निम्तो दिएका छन् । प्रधानमन्त्री ओलीले नेपाल–रुस सम्बन्ध सुमधुर रहे पनि रुसबाट नेपालमा उच्चस्तरीय भ्रमण नभएको गुनासो गरेपछि पुटिनले खुशी व्यक्त गर्दै भने, ‘हामी तपाईंलाई जुनसुकै सुविधाजनक समयमा रूसमा स्वागत गर्न तयार छौं ।’

प्रधानमन्त्री ओलीले नेपाली विद्यार्थीले रुसमा अध्ययन गर्ने अवसर पाएको अनुभव साझा गरेका थिए । यसबारेमा पुटिनले रुसी शिक्षाबाट फर्किएका नेपाली विद्यार्थीले दुई देशबीच पुलको भूमिका खेलेको स्मरण गराएका थिए ।

सी जिनपिङ र मोदीबीच भेटको अर्थ

शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सन् २०२० देखि सुरु भएको सीमा झडपपछि चिसिएको सम्बन्धमा सुधार आउने संकेत प्राप्त भएको छ । यो भेट यस्तो समयमा भएको छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेरिफ परकम्पको दबाबको सामना गरिरहेका छन् ।
भारतीय प्रधानमन्त्री मोदी सात वर्षपछि चीन पुगेका हुन् । शिखर सम्मेलन अगाडि मोदीले चिनियाँ राष्ट्रपति सीसँग ७ महिनाअघि मात्र कजानमा ‘उपयोगी कुराकानी’ गरेका थिए । त्यसबेला सीमाबाट सैन्य टकराव हटाइएपछि शान्ति र स्थिरता कायम रहेको विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका थिए ।

सी,पुटीन र उन को परेड

विश्वयुद्ध दोस्रोको समाप्तिको सम्झनामा बेइजिङको तियानआनमेन चोकमा आयोजना गरिएको सैनिक परेडमा चिनियाँ नेता सी चिनफिङ, रुसका भ्लादिमिर पुटिन र उत्तर कोरियाका किम जोङ उन संगसँगै तियानआनमेन चोक हुँदै हिँडेका थिए । यी तीन नेताहरू एउटै तस्वीरमा देखिएका छन् जहा उनीहरु पहिलो पटक संगै देखा परेका छन् । यसलाई अमेरिकी नेतृत्वको विश्व व्यवस्थामा प्रत्यक्ष चुनौतीका रूपमा हेरिएको छ।

१० हजार भन्दा बढी सैनिक र सयौँ अत्याधुनिक हतियारसहितको यो परेडले सीको नेतृत्वमा चीनको बढ्दो सैन्य शक्ति र विश्वकै सबैभन्दा ठूलो स्थायी सेनालाई आधुनिक बनाउने उनको प्रयासलाई प्रदर्शन गरेको छ ।