
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको कुरा विधान महाधिवेशनमा नहुने बताएका छन् ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबार आयोजित पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले सदस्यताको विषयलाई अनावश्यक ढंगले उचालिएको टिप्पणी गरे।
सो विषय महाधिवेशनसँग सम्बन्धित नभएकाले छलफल हुनै नसक्ने भन्दै उनले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताको विषय कमिटीगत छलफलको विषय भएकाले त्यहीँ छलफल हुने स्पष्ट गरे। उनले विधान महाधिवेशनमा विधानसँग सम्बन्धित विषयमै छलफल केन्द्रित हुने पनि बताए।
पार्टीमा कतिपय कुरा अनावश्यक ढंगले अघि बढाउन खोजिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई विधान महाधिवेशनको छलफलको विषय भन्न नसकिने बताए।
प्रधानमन्त्री ओलीले भने, 'विधान महाधिवेशनमा बेला–बेला केही विषय अनावश्यक ढंगले अघि बढाइएका छन्। ती कुरा विधान महाधिवेशनसँग सम्बन्धित छैनन्। ती विषय अन्यत्रै कमिटीगत छलफलका विषय हुन्। ।'
महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्नेछन्।