काठमाण्डौँ , असोज २ :

यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार योजना सेवा प्रदायक अगुवा संस्था नेपाल परिवार नियोजन सङ्घले आफ्नो ६५औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदैछ । 

समाजसेवी द्वारिकादेवी ठकुरानीको पहल र सक्रियतामा वि. सं २०१६ असोज २ गते सङ्घको स्थापना भएको थियो । 

नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्ने अग्रणी एवं पुरानो संस्था सङ्घले हाल ३१  जिल्लामा रहेका आफ्ना सेवा केन्द्र मार्फत ३५० नगरपालिका तथा गाउँपालिकामा विस्तारित कार्यक्रम तथा सेवा केन्द्र मार्फत समुदायमा सेवा पुर्‍याइरहेको छ । 

विशेषगरी सेवा सुविधाबाट वञ्चित, अल्पसङ्ख्यक, सीमान्तीकृत तथा जोखिम समुदायमा यौन तथा प्रजनन स्वास्थ्यका सूचना तथा सुलभ र गुणस्तरीय सेवा पुर्‍याइरहेको जनाएको छ । सङ्घका ८० प्रतिशतभन्दा बढी सेवाग्राही सोही समुदायका रहेको पनि सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  

नेपालमा परिवार नियोजन कार्यक्रमको सुरुआत गरेको दिन १८ सेप्टेम्बर १९५९ लाई आधार मानेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०१४ मा प्रत्येक वर्ष सेप्टेम्बर १८ लाई राष्ट्रिय परिवार नियोजन दिवस मनाउने निर्णय गरेको थियो । 

सोही अनुसार सङ्घले बुधबार विभिन्न कार्यक्रम आयोजना गरी ‘११ औँ राष्ट्रिय परिवार योजना दिवस’ तथा ‘६५ औँ नेपाल परिवार नियोजन सङ्घ स्थापना दिवस’ मनाउन लागेको हो ।

यस वर्षको परिवार योजना दिवसको नारा ‘सुसूचित छनौट सहितको परिवार योजना सेवाः प्रजनन स्वास्थ्य अधिकार प्राप्तिमा टेवा’ भन्ने रहेको छ । 

यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार योजना सेवाको अधिकार हरेक व्यक्तिको समान मानव अधिकार हो र सबै वर्गले यसको निर्वाध रुपमा उपभोग गर्न पाउनु पर्दछ भन्ने मुख्य ध्येयका साथ स्थापित सङ्घले अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको सदस्य सङ्घका रुपमा कार्यरत रहेको छ ।