काठमाण्डौँ , असोज २ :

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ- नयाँ खोज, अनुसन्धान र प्रवर्द्धनमा लाग्न आम नेपालीहरूलाई आग्रह गर्नुभएको छ ।

१२ औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अनुसन्धान र सोचको प्रवर्द्धनमा तल्लीन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै नयाँ कुराको खोजीमा लागिरहन आग्रह गर्नुभएको हो।

विज्ञान तथा प्रविधिः विकास र उत्पादन वृद्धि भन्ने नाराका साथ आज राष्ट्रिय विज्ञान दिवस मनाइदै छ ।

पूर्वीय दर्शनले सयौ वर्षअघिदेखि कसरी वैज्ञानिक खोजलाई आफुमा समाहित गरेको थियो भन्ने प्रमाण हाम्रा शास्त्र र ग्रन्थहरूमा प्रष्ट छन् । हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रर्वतक थियो ।

समयक्रममा हामीले आफ्नो ढङ्गले यसलाई विकास गरेर जान सकेनौ । बाँकी संसारले ज्ञानको उज्यालोसँग साक्षात्कार गर्न नपाएको युगमा पनि विज्ञानका युगान्तकारी सिद्धान्त हाम्रो शिक्षा, शिक्षा प्रणाली र मौलिक परम्परामा समेटिएका थिए ।

खगोलशास्त्र, भूगोलशास्त्र, औषधि विज्ञान, जीव विज्ञानको क्षेत्रमा हेर्दा हामी उहिल्यै अगाडि थियौ । समयक्रममा हाम्रा सामु नयाँ परम्परा र परिवेश आए र तिनलाई अगाडि बढाउनु पर्‍यो। अब फेरि हामीले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पनि पुनर्जागृत गर्नुपर्ने प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधिको भूमिका अपरिहार्य छ । यसका लागि सरकार विज्ञान र प्रविधिलाई मेरुदण्डका रुपमा अङ्गीकार गर्दै आर्थिक विकास एवं सामाजिक रूपान्तरणको प्रक्रियालाई तीव्र बनाउन अग्रसर छ ।

सरकारले प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानेको भन्दै विज्ञान र प्रविधिको शिक्षालाई प्रगतिको वाहकका रुपमा अङ्गीकार गर्ने नीति लिएको उल्लेख गर्नुभएको छ । 

सरकारले अनुसन्धान तथा उद्यमशीलता प्रवर्द्धन गर्न आविष्कार कोष, स्टार्टअप फण्ड जस्ता वैज्ञानिक, अनुसन्धानकर्मी र देशमै उद्यम गर्न खोजिरहेका युवाहरू केन्द्रित कार्यक्रमहरूको लागि सरकारले बजेट विनियोजन गरेको पनि उहाँले बताउनुभयो ।

देशलाई आवश्यक वैज्ञानिक खोज, अनुसन्धानमा उच्च शिक्षाका जनशक्तिहरुको उचित प्रयोग गरी तथ्य आधारित नीति, कार्यक्रमहरू निर्माण मार्फत ज्ञानमा आधारित दिगो अर्थतन्त्रको निर्माणमा केन्द्रित हुन आवश्यक रहेको उहाँको भनाई छ ।

त्यसका लागि उपयुक्त कार्यक्रमहरू समन्वयात्मक रुपमा अगाडि बढाउन सरकारले प्रयास गरिरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।