
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी गतिविधि नयाँ पुस्ताको विश्वास जित्ने खालको हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानप्रति सम्मान जनाउनुपर्नेमा जोड दिएका छन्।
उनले नयाँ पुस्ताको नाममा भइरहेका प्रतिगमनकारी प्रयास र विध्वंसकारी गतिविधिको विरोध गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
‘नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गरौं। त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंसको विरोध गरौं,’ पोखरेलले भनेका छन्, ‘नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाऔं। जनतासँगको सम्बन्धलाई जीवन्त र घनिष्ठ बनाऔं।’
महासचिव पोखरेलले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउने, कार्यकर्ताको मनोबल उच्च राख्ने र जनपक्षीय जीवनशैली तथा आचरण अपनाउनुपर्ने कुरामा पनि जोड दिएका छन्।
उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षणका लागि सबैलाई जागरूक बनाउने आवश्यकता औंल्याउँदै लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यलाई अझ बलियो बनाउनु पर्ने बताएका छन्।