काठमाडौं, असोज २ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमजोरीहरू स्वीकार गर्दै पार्टी र नेतृत्वलाई सुधार गर्ने प्रक्रियामा आफू रहेको बताएका छन्। बिहीबार जारी एक भिडियो सन्देशमार्फत उनले फागुन २१ गतेको निर्वाचन समयमै सम्पन्न गर्न सबै पक्षले सहयोग गर्नुपर्ने बताएका छन्।

प्रचण्डले देश र जनताविरुद्ध षड्यन्त्रहरू अझै नसकिएको भन्दै अन्तरिम सरकारलाई असफल बनाउने प्रयासहरू थालिएको चेतावनीसमेत दिए।

उनले भने, ‘देश र जनताविरुद्धका षड्यन्त्र सकिएका छैनन्। अन्तरिम सरकारलाई असफल बनाउने प्रयास सुरु भइसकेको छ। चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातर्फ लैजान योजनाबद्ध प्रयास भइरहेको छ। हामी चाहन्छौं, घोषणा गरिएको मितिमा नै निर्वाचन सम्पन्न होस्।’

उनका अनुसार आगामी दिनहरू देशभक्त र लोकतन्त्रवादी शक्तिहरूका लागि चुनौतीपूर्ण हुनेछन्। प्रचण्डले पार्टीले गलत विचार वा नीति नलिए पनि व्यवहारमा कतै कमी भएको स्वीकार गरे।

‘हामीले गलत विचार वा नीति लिएका होइनौं, तर व्यवहारमा कतै चुक्यौं,’ उनले भने, ‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो।’