
सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने पक्का भएको छ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले उनलाई कानुन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकी हुन्। यसअघि सो मन्त्रालयको जिम्मा गृहमन्त्री ओमप्रकाश अर्यालसँग थियो।
सिन्हा २०७३ साउन १७ मा सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए र २०८० कात्तिक १४ मा ६५ वर्षे उमेर हद अनुसार सेवा निवृत्त भएका थिए।
नेपाल ल क्याम्पसबाट स्नातक गरेका सिन्हा वरिष्ठ अधिवक्तासमेत रहेका थिए। उनी कर र कर्पोरेट कानुनका विज्ञ मानिन्छन्।
७ वर्षे न्यायिक कार्यकालमा उनले संवैधानिक, फौजदारी र वाणिज्यसम्बन्धी महत्वपूर्ण मुद्दाहरूमा निर्णय सुनाएका थिए। लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी विवाद, प्रतिनिधिसभा विघटन, कर फर्छ्यौट आयोग तथा ललितानिवास प्रकरणजस्ता मुद्दामा उनले निर्णायक भूमिका खेलेका थिए।