
प्रधानमन्त्री सुशीला कार्कीले ५ जना नयाँ मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छन्। सिफारिस भएका मन्त्रीहरूमा पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, डा. संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र डा. मदन परियार छन्।
सिन्हाले तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । भूमि व्यवस्था, सहकारी र गरिबी निवारण, उद्योग वाणिज्य तथा आपूर्त, र कानुन मन्त्रालय। यसअघि कानुन मन्त्रालयको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालसँग थियो।
डा. संगिता मिश्रालाई स्वास्थ्य मन्त्रीका रूपमा सिफारिस गरिएको छ। उनले यसअघि नै स्वास्थ्य मन्त्रालयका सचिव पदबाट राजीनामा दिएकी थिइन्।
पत्रकार जगदीश खरेललाई सञ्चार र सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। खरेलले लामो समयदेखि पत्रकारिता गर्दै आएका छन् । हाल उनी इमेज टिभीका समाचार प्रमुख थिए।
डा. मदन परियारलाई कृषि र पशुपंक्षी मन्त्रालयको जिम्मेवारी सिफारिस गरिएको छ। उनी एक प्रख्यात कृषि विज्ञ हुन् र राज्य पुनर्संरचनाको संयोजकको रूपमा काम गरेका थिए।
यस्तै महावीर पुनलाई शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको जिम्मेवारी दिइने छ। पुनले दुर्गम क्षेत्रमा ताररहित इन्टर्नेट विस्तारमा योगदान दिएका थिए र यसका लागि अन्तर्राष्ट्रिय म्यागसेसे अवार्ड पनि प्राप्त गरेका थिए। राष्ट्रपतिले नयाँ मन्त्रीहरूको शपथ भोलि गराउने भएका छन् ।