काठमाडौं, असोज ७ :

अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग  मङ्गलबार नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि चीनका राजदुत चेङ्ग सोङ्गले छुट्टाछुटै भेट गरेका छन्।

भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारत बिचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुर्‍याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे।

उक्त भेटको अवसरमा भारतीय राजदूतले भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकोले दुई मुलुकबिच रहेको विशेष सम्बन्धलाई कायम राख्दै यस विषम परिस्थितिमा समेत सबै किसिमको सहयोगका लागि आफूहरू नेपालको साथमा रहेको उल्लेख गरे ।

त्यस  अवसरमा नेपाल भारतबीचको व्यापार सहजीकरणका लागि दुबै पक्षबीच समन्वय सुदृढ बनाउने विषयमा समेत छलफल भयो ।

त्यसैगरी, अर्थमन्त्री खनालले चीनका राजदूतसँगको भेटमा चीन नेपालको असल छिमेकी रहेको उल्लेख गर्दै चीनले नेपालमा गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे।

भेटका अवसरमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गर्दै सरकारले चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताए।

साथै उक्त अवसरमा मन्त्री खनालले नेपाल र चीन बैँकिङ क्षेत्रमा साझेदारीलाई थप प्रगाढ बढाउन, चीनको बैँकको शाखा नेपालमा स्थापना, नेपालबाट भएको निकासीको भुक्तानी सरलीकरणको पहल गरिदिन तथा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्न समेत चिनियाँ राजदुत सोङ्गलाई अनुरोध गरे।

उक्त भेटमा राजदुतले चीनले नेपाली जनताको छनोटलाई सधैँ सम्मान गर्दै आएको उल्लेख गर्दै चीनले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने बताए ।