काठमाण्डौँ , असोज ३ :

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई चुस्त, छरितो र विश्वसनीय बनाउन प्रविधिमैत्री हुनुपर्ने बताउनुभएको छ । 

डिल्लीबजारस्थित गोस्वारा हुलाक कार्यालयको आज निरीक्षण गर्दै मन्त्री गुरुङले सबैभन्दा संवेदनशील सेवा भएकाले सेवाग्राहीमैत्री एवं विश्वसनीय भएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो । 

यो वर्ष राष्ट्रिय हुलाक नीति बनाएर हुलाकसँग सम्बन्धित अधिकांश समस्या समाधान गर्ने विश्वास दिलाउँदै सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले हप्ताको एक दिन ट्रकमार्फत डाँक सेवा प्रदान गर्दैै आएकामा अबदेखि दैनिक रुपमा ट्रक डाँक सेवा सञ्चालन गर्न निर्देशन दिनुभयो । 

हुलाक कार्यालयका सबै गतिविधिलाई डिजिटल बैंक (इसेवा, क्युआर) बाट भुक्तानी गर्ने व्यवस्थामा लैजानुपर्नेमा जोड दिँदै उहाँले विश्व हुलाक सङ्घसँग सम्झौता गरिएकाले सङ्घको मापदण्डअनुसार हुलाक कार्यालयको संरचना बन्नुपर्ने धारणा राख्नुभयो । 

सञ्चार तथा सूचना मन्त्रालयका सचिव राधिका अर्यालले वि.सं १९३५ मा ‘नेपाल हुलाक घर’ को नामबाट सेवा सुरु गरेको गोश्वारा हुलाक आफैमा ऐतिहासिक महत्त्व रहेको बताउनुभयो। 

समयानुकूल प्रविधिमैत्री हुलाक बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले आमसर्वसाधारणको पहुँचसम्म हुलाक सेवा पुर्‍याउने रणनीति बनाउन कर्मचारीलाई निर्देशन दिनुभयो । 

गोश्वारा हुलाक कार्यालय प्रमुख हुलाक अधिकृत वासुदेव रेग्मीले गोश्वारा हुलाक कार्यालयले प्रदान गर्दै आएको सेवा, समस्या, चुनौती र भावी अपेक्षाबारे मन्त्री समक्ष प्रस्तुति दिनुभयो । 

उहाँले विना तालिम, सीमित जनशक्ति र व्यवस्थित नीति नहुँदा हुलाक सेवा प्रवाहमा चुनौती खेप्नुपरेको बताउनुभयो ।