
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्मअनुसार लुम्बिनी प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले सङ्घीयताको मर्म अनुरूप प्रदेश सरकारले आफ्ना कामलाई जनमुखी बनाउँदै गएको, सुशासन, सामाजिक न्याय र जनकेन्द्रित विकासको माध्यमबाट ‘समृद्ध लुम्बिनी प्रदेश’ निर्माणमा प्रतिबद्ध रहेको बताउनुभएको हो।
मुख्यमन्त्री आचार्यले सबै प्रकारका विभेद र उत्पीडनको संस्थागत रुपमा संविधानले अन्त्य गरेको, बहुलवाद, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको बताउँदै संविधानको एकल सूचीका अधिकारलाई कार्यान्वयन गर्दै साझा सूचीका अधिकारलाई समन्वय, सहकार्यको माध्यमबाट अघि बढाउन प्रदेश सरकार तत्पर रहेको उल्लेख गर्नु भएको छ ।
कानुन निर्माणदेखि कार्यान्वयनको भूमिकामा प्रदेशले सफलता हासिल गर्दै अगाडि बढिरहेको उहाँले उल्लेख गर्नुभएको छ ।
समृद्धि प्राप्तिको जनताको तीव्र आकाङ्क्षालाई पूरा गर्न प्रदेश सरकारको तर्फबाट दृढ रहेको भन्दै संविधानको पूर्णपालना गर्नु सबैको कर्तव्य भएको शुभकामना सन्देशमा भन्नुभएको छ ।