चितवन , असोज ५ :

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरू निजी अस्पतालमा जान नपाउने बताउनुभएको छ । आज चितवनमा पत्रकारसँग कुरा गर्दै उहाँले सरकारी अस्पतालमा काम गर्ने समयमा उहाँहरु उपलब्ध हुनुपर्ने बताउनुभयो ।

मन्त्रालयले केही दिनअघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको उहाँले जानकारी दिनुभयो । निर्देशिका कार्यान्वयन भइरहेकाले कतिपय समस्या देखिएको र ती समस्या छिट्टै समाधान हुने उहाँले बताउनुभयो । 

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरी व्यवस्थित गर्न सरकार अघि बढेको मन्त्री पौडेलको भनाइ छ । 

स्वास्थ्य क्षेत्रको प्रगति हिजोको आजै नदेखिने भएकाले क्रमिक सुधारको बाटोमा लैजाने प्रतिबद्धता उहाँले जनाउनुभयो । मन्त्री पौडेलले स्वास्थ्य सेवा प्रभावकारी, बीमालाई व्यवस्थित, औषधिको मूल्य समायोजन लगायतका थुप्रै काम सुरु गरेका र, ती कार्यान्वयन हुँदै जाने बताउनुभयो ।

मन्त्री पौडेलले स्वास्थ्य बीमालाई पाँच लाख बनाउने मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएर कार्यान्वयनमा जाने तयारीमा रहेको पनि जानकारी दिनुभयो ।