काठमाडौं, कात्तिक २ :

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की जेनजी घाइतेसँग भेट गर्नबाट पन्छिन् ।आइतबार पाँच बुँदे माग लिएर सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका जेन-जी आन्दोलनका क्रममा घाइतेहरुसँग समय व्यस्तता भन्दै प्रधानमन्त्री कार्कीले भेट गर्नबाट टाडिन् । 

जेन-जीका घाइतेहरु बिहान ९ बजेदेखि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबारमा पुगेका थिए । तर प्रधानमन्त्री कार्की बिहानैदेखि बालुवाटारबाट निस्किनन्।
प्रधानमन्त्रीले भेट्न नआएपछि जेन-जी घाइतेहरु आक्रोशित भएका छन् । उनीहरुले भदौ २३ र २४ को गोली प्रहारको तत्काल न्यायिक कारवाही हुनुपर्ने माग आफूहरुको रहेको बताएका छन् । त्यस्तै उनीहरुले संवैधानिक सुधार र जनमत संग्रह, जेनजेड आन्दोलनको संरक्षण र कानूनी सुरक्षा, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता तथा सम्पत्ति छानबिन, संवैधानिक अंगमा स्वच्छ नियुक्ति र विदेशी हस्तक्षेप रोक लगायतका माग आफूहरु रहेको बताएका छन् । साथै उनीहरुले पाँच दिनभित्र आफ्ना माग पूरा हुनुपर्ने अल्टिमेटम दिएका छन् । प्रधानमन्त्री कार्यालयमा जेन-जीका घाइतेहरु थप आक्रोशित भएपछि प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले प्रधानमन्त्रीले आइतबार (आज) बालुवाटारबाटै काम गरिरहनुभएको बताए । प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण भेट गर्नसक्ने अवस्था नरहेको बताए।

गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको आन्दोलनका क्रममा दर्जन बढी घाइते भएका छन् । उनीहरुमध्ये केहीको उपचार जारी छ ।