
मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ ।
समुन्द्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो संसारको सबैभन्दा अग्लो स्थानको ताल हो ।
मुस्ताङको सदरमुकाम जोमसोमदेखि घरपझोङ गाउँपालिका- ५ ठिनी भएर तिलिचो तालमा पर्यटक जान थालेका हुन् ।
यसअघि मनाङको चामेदेखि खाङसार हुँदै तिलिचो ताल जोड्ने पदमार्ग प्रयोगमा थियो ।
मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जोमसोम- ठिनी- नमखुलेक, निलगिरि आइसफल, छेमा ताल, मसोकोन्दो पास हुदै तिलिचो ताल जोड्ने पदमार्गलाई आन्तरिक पर्यटकले प्रयोग गर्न थालेका बताउनुभयो
गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले तिलिचो ताल जोड्ने पदमार्ग निर्माण गरेको उहाँले बताउनुभयो । यो पदमार्ग भएर दुई दिनमै पर्यटक तिलिचो ताल जान र आउन थालेका छन् ।
म्याग्दी र मुस्ताङका बासिन्दा, कर्मचारी, व्यवसायीहरू जोमसोम हुँदै तिलिचो ताल भ्रमणमा जान थालेका छन् ।
यो पदमार्ग भएर तिलिचो पुग्न पाँच हजार एक सय २० मिटर अग्लो मेसोकोन्दो पास (झञ्जयाङ) पार गर्नुपर्छ ।
होटल र रेष्टुरेन्टको सुविधा नभएकाले आफै खानेबस्ने सामग्रीको जोहो गर्नुपर्छ । जोमसोमदेखि दुई घण्टा सवारी साधन र छ घण्टा पैदलयात्रा गरेपछि मेसोकोन्दो पास पुगिन्छ ।
मेसोकोन्दोदेखि एक घण्टा पैदलयात्रा गरेपछि तिलिचो ताल पुगिने यसै हप्ता तिलिचो भ्रमण गरेर फर्कनुभएका म्याग्दीको मालिका गाउँपालिका- ४ फुलबारीका तुलन बुढामगरले बताउनुभयो ।