काठमाडौं, कात्तिक ९ :

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारले वार्ताका लागि देखाएको तयारीप्रति स्वागत व्यक्त गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले भनेका छन्, ‘सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ। ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ।’

प्रसाईंले जनताको आवाज सुन्ने सरकारको कदमलाई सकारात्मक भन्दै राष्ट्र र नागरिकको हितमा ठोस तथा परिणाममुखी समाधान देशले अपेक्षा गरिरहेको बताएका छन्। उनका अनुसार, ‘वार्ता गर्न बोलाउँदैमा मात्रै होइन, राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको छ।’

यसअघि, सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहहरूले धर्ना, जुलुस र विरोध प्रदर्शनलगायत कार्यक्रमहरू सार्वजनिक गरिरहेको विषयमा सरकार गम्भीर बनेको छ।

गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै जायज माग, चासो र सरोकारहरू सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेको थियो। मन्त्रालयले शान्ति, स्थिरता र सहमतिको वातावरणमा वार्ता र संवादमार्फत समस्या समाधान गर्न सबै पक्षलाई आग्रह गरेको छ।