
बर्दघाट सुस्तापूर्व नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताल पन्ध्र शय्यामा सीमित रहँदा बिरामीको चाप धान्न समस्या भएको छ ।
वि. सं २०७५ मा सामुदायिक रूपमा सञ्चालित अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ शय्याको जिल्ला अस्पताल कायम गरेको थियो । त्यसयता अस्पतालमा बिरामीको चाप निकै बढेको छ तर अस्पतालको स्तरोन्नति नहुँदा सेवा दिन समस्या हुने गरेको अस्पतालका मेडिकल रेकर्डर हेरम्ब आचार्यले बताउनुभयो ।
अस्पताल प्रशासनले बिरामीको चाप बढेपछि हाल ७८ शय्यामा सेवा दिइरहेको छ तर स्वीकृत दरबन्दी १५ शय्याको मात्र हुँदा जनशक्ति व्यवस्थापनको समस्या पेचिलो बनेको उहाँले बताउनुभयो ।
जिल्ला अस्पताल भनेपछि बिरामीको चाप दिनानुदिन बढ्दै गएकोले बाध्यताले शय्या थप गरेको भएपनि जनशक्ति, पूर्वाधार र संरचनाको समस्या भएको आचार्यले बताउनुभयो ।
अस्पतालमा उपचारका लागि पुगेका बिरामीले सामान्य जाँचका लागि पनि दिनभर बिताउनुपर्ने अवस्था रहेको गुनासो गरेका छन् ।
टिकट काट्नदेखि चिकित्सकलाई देखाउन धेरै समय लाग्ने गरेको र प्रयोगशालामा जाँच गराएको रिपोर्ट प्राप्त गर्न पनि उस्तै समस्या रहेको बिरामीहरूको गुनासो छ ।
अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने पहल भए पनि गण्डकी प्रदेश सरकारले यो प्रक्रियालाई टुङ्गोमा नपुर्याउँदा योजनाले मूर्त रूप पाउन नसकेको मेडिकल सुपरिटेन्डेन्ट रमेशप्रसाद आचार्यले जानकारी दिनुभयो ।