सिन्धुली, असोज ७ :

करिब तीन वर्षअघि कोरियाले नेपाललाई दिएका उन्नत जातका गाईबाट जन्मिएका बाछी सिन्धुलीका स्थानीयलाई उपहारका रूपमा प्रदान गरिएको छ ।

शनिबार सिन्धुलीको कमलामाई नगरपालिकामा आफ्नो ८० औँ वार्षिकोत्सव मनाउँदै हेफर इन्टरनेशनलले उपहार हस्तान्तरण कार्यक्रम (पासिङ अन द गिफ्ट) सम्पन्न गरेको हो ।

हेफरले नेपाल सरकारसँग मिलेर सिन्धुलीमा ‘मिल्की वे’ परियोजना सञ्चालन गर्दै आएको छ । दक्षिण कोरिया सरकार पनि यस परियोजनाको साझेदार हो ।

परियोजनाका लागि दक्षिण कोरियाले सन् २०२२ डिसेम्बर र सन् २०२३ जनवरीमा होलिस्टिन प्रजातिका एक सय गाई र आठवटा साँढे उपहार स्वरूप प्रदान गरेको थियो । 

जसमध्ये कमलामाई नगरपालिकामा ५१ किसान परिवारलाई गाई बाँडिएका थिए । नश्ल सुधारका लागि ल्याइएका साँढे भने राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिएका छन् ।

यसरी किसानलाई बाँडिएका उन्नत जातका गाईबाट जन्मिएका बाछी अहिले अरू किसानलाई हस्तान्तरण गरिएको हो।

‘मिल्की वे’ परियोजनाले पाँच लाख नेपाली साना किसान परिवारमा पुगेर जीवनस्तर सुधार गर्ने अपेक्षा गरिएको छ। ‘मिल्की वे’ परियोजनाका साझेदारहरूले कमलामाई नगरपालिकामा ‘मोडेल डेरी भिलेज’ समेत स्थापना गरेका छन् ।

कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले ‘मिल्की वे’ कार्यक्रमले किसानको जनजिविका सुधारमा लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।