काठमाडौं, कात्तिक १७ :

प्रधानमन्त्री सुशीला कार्कीले सोमबार सिंहदरबारमा आयोजित सचिवहरू, सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरूको संयुक्त बैठकमा सरकारको सेवा प्रवाहलाई प्रभावकारी र परिणाममुखी बनाउन १४ बुँदे निर्देशन जारी गरेकी छन्।

बैठकमा विषयगत मन्त्रालयका सचिवहरूले आफ्नो–आफ्नो कार्यप्रगति र सुधारका योजनाहरू प्रस्तुत गरेका थिए। ती प्रस्तुति सुनेपछि प्रधानमन्त्री कार्कीले सुधारका प्रयासहरू प्रशंसनीय भएको बताउँदै सुधारका योजनाले आम नागरिकलाई प्रत्यक्ष रूपमा छुन सक्नुपर्छ भन्नेमा जोड दिइन्।

प्रधानमन्त्रीको निर्देशन सुशासन, पारदर्शिता र जनउत्तरदायित्व अभिवृद्धिमा केन्द्रित रहेको छ। १४ बुँदे निर्देशनमा भ्रष्टाचार नियन्त्रण, सार्वजनिक खर्चमा मितव्ययिता, निजी क्षेत्रको मनोबल वृद्धि, कर्मचारी प्रशासन सुधार, पुनर्निर्माण, निर्वाचन तयारी र अपराध नियन्त्रण लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ।

उनले आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण तीव्र बनाउने, सरुवा–बढुवा प्रणालीमा पारदर्शिता कायम गर्ने, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय मजबुत बनाउने र अनावश्यक संरचना खारेज गरी सार्वजनिक प्रशासनलाई चुस्त र उत्पादक बनाउने निर्देशन दिइन्।

साथै, प्रधानमन्त्री कार्कीले आम नागरिकमा सरकारप्रतिको भरोसा बढाउने र कर्मचारी तथा सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्ने उपायहरू अपनाउन सम्बन्धित निकायहरूलाई आग्रह गरिन्।

यस्तो छ प्रधानमन्त्रीले दिएको निर्देशनको विवरण :

नेपाल सरकारका मुख्यसचिव,

सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू, सबै कर्मचारी साथीहरू

बैठकको आयोजना गर्नुभएकोमा मुख्यसचिवलाई धन्यावद। विषयगत मन्त्रालयका सचिवहरूको प्रस्तुति सुने। तत्काल सुधारका कार्ययोजनाहरू प्रशंसनीय छन्। तपाईंहरूले अघि सार्नुभएका सुधार योजनाले आम नागरिकलाई छुन सक्नुपर्छ। त्यसैबमोजिम कार्ययोजना परिमार्जन गर्नुहोला। अन्तर मन्त्रालय र अन्तर निकाय समन्वयलाई बढावा दिनुहोला।

त्यसका अतिरिक्त तत्कालका प्राथमिकताहरूका बारेमा म केही निर्देशन दिन चाहन्छु।

१.    गत भाद्र २३ र २४ गतेको आन्दोलनको मर्म र भावना बमोजिम भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्नुहोस्।

२.    सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न अर्थ मन्त्रालयले जारी गरेको परिपत्रलाई कडाइका साथ पालना गर्नुहोस्।

३.    निजी क्षेत्रको मनोबल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्नुहोस्।

४.    आम नागरिकमा सरकारप्रतिको भरोसा वृद्धि गर्ने एवं निजामती कर्मचारी र सुरक्षाकर्मीहरूमा मनोबल वृद्धि गर्ने उपायहरू अवलम्बन गर्नुहोस्।

५.    कर्मचारीहरूको सरुवा बढुवा प्रणालीलाई व्यवस्थित गरी अनुमानयोग्य, पारदर्शी र न्यायोचित बनाउन के के गर्नुपर्छ, गर्नुहोस्।

६.    आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको क्षति तथा नोक्सानीको प्रतिवेदन तत्काल तयार गरी पुनर्निर्माणको नीति र कार्ययोजना बनाउनुहोस्। भौतिक संरचना मेशिनरी औजार तथा उपकरणमा पुगेको क्षतिबाट सेवा प्रवाह अवरुद्ध हुन नदिन तत्काल खरिद वा वैकल्पिक सेवा प्रवाहको व्यवस्था गर्नुहोस्।

७.    निर्वाचनको वातावरण बनाउन मैले निर्वाचन आयोग सुरक्षा निकाय राजनीतिक दल र अन्य सरोकारवालाहरूसँग निरन्तर संवाद गरिरहेकी छु। निर्वाचनको पूर्व तयारीका लागि आआफ्ना जिम्मेवारीका कार्यहरूलाई चुस्त दुरुस्त रूपमा सम्पादन गर्नुहोस्।

८.    सबै मन्त्रालयहरूको वार्षिक कार्ययोजना कार्यान्वयनको समीक्षा गर्नुहोस्। परम्परागत शैलीबाट माथि उठेर नयाँ मानकहरू स्थापना गर्नुहोस्।

९.    मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक बसी समीक्षा गर्नुहोस्। राष्ट्रिय विकास समस्या समाधान समितिमा ल्याउनुपर्ने प्रस्तावहरू समेत ल्याउनुहोस्।

१०.     मेरो अध्यक्षताका अन्तर प्रदेश परिषद् लगायतका सबै परिषद् वा समितिका बैठकहरूको व्यवस्थापन गर्नुहोस्।

११.    नवनियुक्त मन्त्रीहरू र प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा कूटनीतिक मामिलासम्बन्धी छलफल आयोजना गरौं।

१२.    प्रदेशमा जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेछ। तीनै तहका सरकारबीचको समन्वयलाई थप प्रभावकारी बनाउन जे जे गर्नुपर्ने हो गर्नुहोस्।

१३.    कानुनको शासन प्रत्याभूत गर्न सबै खाले आपराधिक क्रियाकलापहरू नियन्त्रण गर्नुपर्नेछ। यसमा कुनै सम्झौता नगर्नुहोस्।

१४.    अनावश्यक देखिएका संरचना खारेज गर्ने गाभ्ने तथा हस्तान्तरण गरी सार्वजनिक प्रशासनलाई चुस्त दुरुस्त र उच्च उत्पादकत्वयुक्त बनाउने कार्य तत्काल प्रारम्भ गर्नुहोस्।

तपाईंहरू स्थायी सरकार हो। आफ्नो ज्ञान सीप अनुभवको प्रयोग गरी कर्तव्य र उत्तरदायित्व पालनामा खरो उत्रनुहुनेछ र नयाँ पुस्ताले सुम्पेको समृद्धि, विकास, सुशासन, समानता र भ्रष्टाचारविहीन शासकीय प्रबन्धको ग्यारेन्टी गर्ने जिम्मा तपाईंहरूकै हो। धन्यवाद।