
सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।
जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि आज न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक मोहन बहादुर थापाले जानकारी दिनुभयो ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई आज प्रहरीले म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
पूर्व डिआइजीसमेत रहेका जोशी गोरखा मिडिया प्रालिका पूर्व सञ्चालकहरुमध्ये एक हुन ।प्रहरीले उनलाई हिजो पक्राउ गरी पोखरा लगेको थियो ।
गोरखा मिडियामा रहँदा सहकारीको रकम अपचलन सम्बन्धमा जोशीसहित चार जनालाई दोषी ठहर गर्दै सहकारी छानवीन संसदीय समितिले सिफारिस गरेको थियो ।
समितिको सिफारिस कार्यान्वयन गर्ने क्रममा जोशी पक्राउ परेका हुन ।