काठमाडौं, मंसिर ४ :

बाराको सिमरामा हिजो भएको झडपलाई लिएर आज (बिहीबार) पनि स्थिति तनावग्रस्त बनेको छ। बिहानदेखि जेनजी समूहको प्रदर्शन चर्किएपछि प्रशासनले दिउँसो १२:४५ बजेबाट कर्फ्य आदेश जारी गरेको छ।

बिहीबार बिहान ११ बजेदेखि जेनजी युवाहरू सिमरा चोकमा टायर बाल्दै सडक अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका थिए। भीड नियन्त्रणका लागि सुरक्षाकर्मीले सामान्य बल प्रयोग समेत गरेका थिए। स्थिति थप अनियन्त्रित हुन नदिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लागु गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण सुवेदीका अनुसार दिउँसो १२:४५ देखि साँझ ८ बजे सम्म कर्फ्यु जारी रहनेछ। पथलैयादेखि दक्षिण जीतपुरको ललका पुलसम्म—राजमार्गको दायाँ–बायाँ ५०० मिटर दूरी तथा एयरपोर्ट क्षेत्रको आसपास ५० मिटर क्षेत्र कर्फ्युको दायरामा पर्ने जनाइएको छ।

प्रदर्शन चर्किएसँगै सिमरा क्षेत्रमा यातायात पूर्ण रूपमा अवरुद्ध छ। जेनजी समूहले कुटपिट घटनामा संलग्न व्यक्तिहरूको गिरफ्तारी माग गर्दै प्रदर्शन जारी राखेको छ।