
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफूहरुसँग गरेको सहमति कार्यान्वयनका लागि दबाब दिन भन्दै ‘ए’ डिभिजन फुटबल क्लबहरुले एन्फा कम्लेक्स अगाडी धर्ना दिएका छन् ।
गत कार्तिक १७ गतेको छलफलमा भएको सहमति अनुसार एन्फा अघि नबढेको भन्दै ‘ए’ डिभिजन फुटबल क्लबहरुले बिहीबार एन्फा कम्लेक्स अगाडी धर्ना दिएका हुन् । उनीहरुले नेपाली फुटबललाई अघि बढाउन एन्फाले ल्याएको प्रस्तावलाई बाध्यकारी रुपमा आफुहरुले स्वीकार गरेपनि अहिले एन्फाले नै उक्त सहमतिलाई कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।
हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यो वर्ष पुसदेखि राष्ट्रिय लिग गर्ने र अर्को वर्ष पुसमा होम एन्ड अवे फम्र्याटमा ‘ए’ डिभिजन लिग गर्ने सहमति कार्यान्वयनमा एन्फा अग्रसर नभएकाले धर्ना दिइएको बताउनुभयो ।
उनले आफूहरुसँग गरेको सहमति कार्यान्वयनमा आफूहरुको जोड रहेको भन्दै यस बिषयमा खेलकुद मन्त्रालयले समेत ध्यान दिनुपर्ने बताए ।
धर्नामा सहभागीहरुले एक बर्षको फुटबल साइकललाई ४ वर्षसम्म लम्ब्याउन नहुने, फुटबल दबाबमा होइन, मैदानमा खेलौं, ८९३ दिनदेखि ‘ए’ डिभिजन कसको कारणले रोकियो, क्लवको लगानीलाई बेवास्ता नगरौं लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।