
खोटाङमा सार्वजनिक सवारीसाधनले यात्रुबाट बढी भाडा लिने गरेको जनगुनासो आएपछि अनिवार्य टिकटको व्यवस्था गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा बढी शुल्क तिर्नुपर्ने गुनासो आएपछि अनिवार्य टिकट दिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो ।
दसैँतिहार तथा छट पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकले हरेक यात्रुलाई अनिवार्य टिकट दिएर मात्रै यात्रा गर्ने÷गराउने व्यवस्था कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
जिल्लामा सञ्चालित कतिपय जिपले यात्रुबाट तोकिएभन्दा बढी भाडा लिने, टिकट नदिने जनगुनासो आएकाले अनिवार्य टिकटको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो ।
सार्वजनिक सवारीसाधनले बढी भाडा लिए वा टिकट नदिएको पाइए तत्काल प्रहरीलाई खबर गर्न यात्रुलाई प्रजिअ कार्कीले आग्रह गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्लाबाट छुट्ने जिप तथा बसको पुरानो भाडा दर कायम गर्ने निर्णयसमेत गरेको छ ।
बैठकमा सहभागी यातायात व्यवसायी सङ्घका प्रतिनिधिले चाडपर्वको समयमा एकतर्फी मात्रै यात्रु हुने जानकारी दिँदै भाडादर वृद्धिको प्रस्ताव राखेका छन् ।