
सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१- ८२ को भदौ सम्ममा आठ अर्ब ३९ करोड ४१ लाख १२ हजार राजस्व सङ्कलन गरेको छ ।
भन्सार विभागले कार्यालयलाई भदौसम्म नौ अर्ब ९७ करोड ७९ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो ।
तर भदौ सम्मको लक्ष्य पछ्याउन भने सकेन । कार्यालयले चालु आवको साउनमा तीन अर्ब ७५ करोड २२ लाख ११ हजार सङ्कलन गर्यो भने चालु आवकै भदौमा भने चार अर्ब ६४ करोड १९ लाख एक हजार राजस्व सङ्कलन गरेको छ ।
सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनवहादुर बरुवालले चालु आवको दुई महिनामा राजस्व सङ्कलन उत्साहप्रद रहेको बताउनुभयो ।
भन्सार विभागले दिएको लक्ष्यको साउनमा ७९ दशमलव २८ प्रतिशत राजस्व सङ्कलन भयो भने भदौमा पनि मासिक लक्ष्यको ८८ दशमलव ५० प्रतिशत राजस्व सङ्कलन गरेको उहाँले बताउनुभयो ।
भदौमा चाडपर्व लक्षित आयात भएर लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्ने अपेक्षा भए पनि शतप्रतिशत सङ्कलन हुन भने नसकेको उहाँको भनाई छ ।
भन्सार विभागले कार्यालयलाई ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य दिएको छ ।
कार्यालयले चालु आवको दुई महिनासम्मको अवधिसम्म कुल वार्षिक लक्ष्यको १३ दशमलव ९८ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
प्रमुख भन्सार अधिकृत बरुवालले दशैँ र तिहारजस्ता चाडपर्व नजिकै आउन लागेकाले पनि विदेशी तयारी मदिराजन्य आयात बढेको बताउनुभयो ।
कार्यालयले आव २०८०- ८१ को भदौ सम्ममा भने आठ अर्ब ६५ करोड २० लाख ५९ हजार राजस्व सङ्कलन गरेको थियो । त्यस्तै आव २०७९- ८० को भदौसम्ममा सात अर्ब ६० लाख २२ लाख ३४ हजार राजस्व सङ्कलन गरेको थियो ।