बागलुङ, असोज ११ :

नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गरिने भएको छ।

सूचनाको अभाव तथा भरपर्दो पर्यटकीय पूर्वाधार तथा सडक समेत नभएको बारे गुनासो बढेका कारण पर्यटकलाई सही सूचना प्रदान गर्ने उद्देश्यले सूचना केन्द्र निर्माण गर्न लागिएको हो। 

ढोरपाटनमा सिकार खेल्न विदेशी सिकारी हेलिकप्टर चार्टर्ड गरेर आउने गरेका छन् भने आन्तरिक पर्यटक स्थलमार्ग मार्फत भ्रमण तथा अवलोकनमा आउने गरेका छन् । यसैलाई लक्षित गरी पर्यटन विभागले चालु आर्थिक वर्षमा सूचना केन्द्र निर्माण गर्न लागेको जनाएको छ । 

ढोरपाटन नगरपालिका उपप्रमुख धनबहादुर कायतले पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि हुँदै गएपछि पर्यटन विभागले पर्यटन सूचना केन्द्र निर्माण गर्न लागेको जानकारी दिनुभयो ।

नगरपालिकाको वडा नं ९ स्थित पाखाथरमा आकर्षक पर्यटकीय केन्द्र निर्माणका लागि ठेक्का सम्झौता गरिएको पनि उहाँले बताउनुभयो ।  

पहिलो चरणमा चार करोड लागतमा पर्यटन सूचना केन्द्र भवन निर्माणका लागि श्री डोलेश्वर महादेव निर्माण प्रालिसँग सम्झौता भएको छ ।

पूर्वाधार निर्माणसँगै पार्क, सङ्ग्रहालय तथा पर्यटकका लागि आवश्यक पर्ने अन्य जानकारी दिन उक्त केन्द्र निर्माण गर्न लागिएको उपप्रमुख कायतले बताउनुभयो ।