काठमाडौं, पुस ३ :

 नेकपा एमालेको उपाध्यक्ष पदमा अध्यक्ष केपी शर्मा ओली प्यानलका तीन जना उम्मेदवार निर्वाचित भएका छन्। त्यस्तै ईश्वर पोखरेल प्यानलका एक जना तथा एक स्वतन्त्र उम्मेदवार पनि उपाध्यक्षमा विजयी भएका छन्।

ओली प्यानलबाट उपाध्यक्षमा दोहोरिएका नेताहरूमा विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ रहेका छन्। पौडेलले १ हजार ६ सय ७५ मत प्राप्त गर्दा थापाले १ हजार ५ सय १६ मत ल्याएका छन्। यसैगरी पूर्वउपमहासचिव पृथ्वीसुब्बा गुरुङले सबैभन्दा धेरै १ हजार ७ सय ३७ मत प्राप्त गर्दै उपाध्यक्षमा निर्वाचित भएका छन्।

ईश्वर पोखरेल समूहबाट पूर्वसचिव गोकर्ण विष्ट १ हजार ३ सय ६८ मतसहित उपाध्यक्षमा निर्वाचित भएका छन्। संस्थापन पक्षको उम्मेदवार सूचीमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका रघुजी पन्त पनि १ हजार २ सय ५८ मत ल्याउँदै उपाध्यक्षमा निर्वाचित भएका छन्।

यसैबीच, नेकपा एमालेको सचिव पदमा अध्यक्ष ओलीको प्यानल नै विजयी भएको छ। सचिवमध्ये सबैभन्दा बढी मत महेश बस्नेतले ल्याएका छन्। उनले १ हजार ५ सय ४४ मतसहित विजयी भए। दोस्रो धेरै मत ल्याउनेमा पद्माकुमारी अर्याल रहेकी छन्। उनले १ हजार ५ सय ३० मत प्राप्त गरिन्।

तेस्रो धेरै मत ल्याउनेमा छविलाल विश्वकर्मा रहेका छन्। उनले १ हजार ५ सय ६ मत ल्याएका छन्। यसैगरी सचिवमा विजयी हुने अन्य उम्मेदवारहरूमा शेरधन राई (१,५०३), हिक्मतकुमार कार्की (१,३३७), खगराज अधिकारी (१,२३१), यामलाल कंडेल (१,१८५), राजन भट्टराई (१,१८१) र भानुभक्त ढकाल (१,१०८) रहेका छन्। एमालेको ११औँ महाधिवेशनअन्तर्गत विभिन्न पदको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ।