
आगामी निर्वाचनमा एक भएर अघि बढ्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमतिप्रति नेकपा एमालेका नेताहरूले सार्वजनिक टिप्पणी गरिरहेका छन्।
सोही क्रममा एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत ‘भदौ २३ र २४ गतेका विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक क्रमशः सार्वजनिक हुँदै गएको’ र ‘षड्यन्त्रको दोस्रो चरण सुरु हुँदै गरेको’ दाबी गरेका छन्।
पोखरेलले ती घटनालाई भूराजनीतिक द्वन्द्वसँग जोड्दै नेपाललाई अस्थिर बनाउने प्रयास भएको आरोप लगाएका छन्। यद्यपि उनले आफ्नो टिप्पणीमा रास्वपा वा बालेनको नाम भने प्रत्यक्ष रूपमा उल्लेख गरेका छैनन्।
उनले संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरूलाई सचेत र एकजुट हुन आग्रह गर्दै नेपाललाई भूराजनीतिक खेलको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार भूमिका खेल्नुपर्ने बताएका छन्।