काठमाडौं, पुस १४ :

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाएको छ ।

कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन विभाग प्रमुख निरज आचार्यको नेतृत्वमा गएको टोलीले बन्दसूची दर्ता गराएको हो ।

बन्दसूचीमा वरिष्ठ नेताहरू, महिला, युवा, आदिवासी जनजाति, मुस्लिम, पिछडिएको क्षेत्र तथा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्वलाई समेटिएको एमालेले जनाएको छ ।

पुरानो पुस्ताबाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, गुरु बराल र डा. पुष्प कँडेललाई समावेश गरिएको छ भने महिला समूहबाट पार्टी सचिव पद्मा अर्यालसहित टुका हमाल, निरुदेवी पाल, कोमल वली, शान्ता चौधरी र भूमिका सुब्बालाई समेटिएको छ ।

नयाँ पुस्ताबाट मीना बराम, मनकुमारी तितुङ, मायादेवी पोडेनी, निर्मल दौला, रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरी, क्रान्ति बुर्लाकोटी र अनिता कन्दङ्वाल सूचीमा परेका छन् ।

पिछडिएको क्षेत्रबाट आठ जनाको नाम समावेश गरिएको छ भने मुस्लिम समुदायबाट साजिदा सिद्दीकी र मोहम्मद हारूनलाई स्थान दिइएको छ ।

एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ उपाध्यक्ष ‘बादल’लाई पहिलो नम्बरमा राखेको छ । अध्यक्ष केपी शर्मा ओलीले ११० जनाको सूचीलाई अन्तिम रूप दिएका हुन् । यसअघि सचिवालय बैठकबाट पारित सूचीमा पहिलो नम्बरमा रामेश्वर राना मगर रहेका थिए ।