
चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित खाद्यपदार्थको अनुगमनलाई बढाउन थालेको छ ।
विभागको दुईवटा टोलीले बिहीबार काठमाडौँ उपत्यकाका नौ स्थानमा अनुगमन गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा एयरपोर्ट बर्गर हाउस एण्ड थकाली किचेन प्रालिमा उपभोग्य मिति समाप्त भएको पाँच सय ग्रामका छ थान कोदोको पिठो र तोकिएको गुणस्तरभन्दा फरक पर्ने तेल नष्ट गरिएको पनि उहाँले बताउनुभयो ।
उक्त पसललाई देखिएका कमजोरी सुधार गरी सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
प्राप्ति फुड प्रडक्ट्स सिनामङ्गल- ९ काठमाडौँमा बिक्री वितरणमा राखिएको घ्यूको गुणस्तरमा शङ्का लागेपछि बिक्री बन्द गरी परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ ।
सो पसलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सङ्कलित घ्यूको नमूनाको विश्लेषण प्रतिवेदन न्यूनस्तरको पाइएको छ । सो घ्यू जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिको रोहवरमा नष्ट गरिएको र सञ्चालकलाई सो सम्बन्धमा विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ ।
टिथ्री थकाली समूह सिनामङ्गल- ९ काठमाडौँमा स्थलगत निरीक्षणका क्रममा भेटिएका उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ नष्ट गरिएको छ । कमी-कमजोरीसम्बन्धी थप जानकारीका लागि सञ्चालकलाई सात दिनभित्र दर्ता प्रमाणपत्र सहित विभागमा उपस्थित हुन विभागले निर्देशन दिएको छ ।
बेकर्स बेकरी उद्योग काठमाडौँ महानगरपालिका- ३१ बानेश्वरमा निरीक्षणका क्रममा देखिएका कमजोरी सुधार गरी तीन दिनभित्र विभागमा उपस्थित हुन पनि विभागले निर्देशन दिएको छ ।
कोलकाता स्वीट्स प्रालि, कामनपा- ३१ बानेश्वर, काठमाडौँमा फ्रिजमा भेटिएको बिना लेबलका ढुसी परेको एक केजीको १५ प्याकेट खुवा नष्ट गरिएको थियो । बिना लेबल विवरणका खाद्य पदार्थको बिक्री वितरण नगर्न पनि विभागले सो पसललाई निर्देशन दिएको जनाइएको छ ।
मिठो मसिनो थकाली रेस्टुरेन्ट प्रालि मध्यपुरथिमि नगरपालिका- १, भक्तपुरलाई फ्रिजमा खाद्य पदार्थ लेबल लगाएर व्यवस्थित तवरले भण्डारण गर्न निर्देशन दिइएको छ ।
चिल हाउस प्रालि मध्यपुरथिमि नपा- २, भक्तपुरमा लेबल विवरण नभएका खाद्य पदार्थ फिर्ता गर्न र पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थ प्रयोग नगर्न निर्देशन दिएको विभागले जनाएको छ ।
सिफान स्टोर, मध्यपुरथिमि नपा- १, भक्तपुरमा म्याद गुज्रेका खाद्य पदार्थ नष्ट गरी कमीकमजोरी सुधार्न निर्देशन दिएको प्रवक्ता महर्जनले बताउनुभयो ।
जय माँ दुर्गा किराना पसल मध्यपुरथिमि नपा- १, भक्तपुरमा निरीक्षणका क्रममा देखिएका कमजोरी सुधार गर्न निर्देशन दिएको पनि उहाँले सुनाउनुभयो।
चाडपर्व लक्षित बजार अनुगमनलाई अझै तीव्रतासाथ अघि बढाउने विषयमा गृहकार्य भइरहेको पनि विभागले जनाएको छ ।