काठमाडौं, पुस २९ :

नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाइएको छ। बन्दसत्रले यसअघिको निर्वाचन समिति भंग गर्दै अधिवक्ता सीताराम केसीको संयोजकत्वमा नयाँ निर्वाचन समिति गठन गरिएको छ । समितिको बैठक बसेर निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाउने निर्णय गरिएको जनाइएको छ।

भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र अझै जारी छ। संस्थापन पक्षको मुख ताक्दै बन्दसत्रलाई टुङ्ग्याउन ढिलाई गरिएको छ ।

विशेष महाधिवेशन पक्षधर नेताहरूले लाजिम्पाटस्थित एक निवासमा संस्थापन पक्षका नेताहरूसँग वार्ता गरिरहेका छन्। सहमतिका लागि बिहान भएको वार्ता भने कुनै निष्कर्षमा नपुगी टुंगिएको जनाइएको छ।

यसै क्रममा विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा उपस्थित प्रतिनिधिहरूले नाराबाजी गरेका छन्। केन्द्रीय कार्यसमिति भंग गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने मागसहित उनीहरूले नाराबाजी गरेका हुन्।

विशेष महाधिवेशनलाई लिएर दलभित्र मतभेद कायमै रहे पनि सहमतिका लागि दुवै पक्षबीच छलफललाई निरन्तरता दिने प्रयास भइरहेको नेताहरूले बताएका छन्।