गोरखा, असोज १३ :

अविरल बर्षापछि त्रिशूली नदीमा आएको भीषण बाढीले ठेउवाटारस्थित झोलुङ्गे पुल बगाएको छ ।

बाढीले आज बिहान गोरखाको सहिद लखन गाउँपालिका–४ ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित कुरिनटार जोड्ने झोलुङ्गे पुल बगाएको हो । 
बाढीले पुलको गोरखातर्फको पिल्लरको भाग उप्काएर बगाएको हो ।

अन्य तीन वटा झोलुङ्गे पुल बाढीको उच्च जोखिममा परेका छन् ।

गोरखा र धादिङ्ग तथा गोरखा–चितवन जोड्ने त्रिशूली नदी माथिका विभिन्न ठाउँमा रहेका झोलुङ्गे पुलमा बाढीले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 
सोही नदीमा आएको बाढीका कारण थप तीन पुल बाढीको उच्च जोखिममा परेको  छ । बाढीका कारण गोरखाको सहिद लखन–३ सिलिङ्ग र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा परेका छन् ।

त्यस्तै गोरखाको गण्डकी गाउँपालिका–७ धवादीघाट र धादिङ्गको बेनीघाट रोराङ्ग गाउँपालिका–६ स्थित हिक्लुङ्गमा रहेको झोलुङ्गे पुल पनि बाढीको जोखिममा परेको छ । उक्त झोलुङ्गे पुल गत वर्ष पनि बाढीले क्षति पुर्याएपछि भर्खरै मात्र मर्मत गरिएको थियो ।

सोही ठाउँमा रहेको अर्को एक झोलुङ्गे पुल समेत बाढीको उच्च जोखिममा रहेको छ ।

बाढीको जोखिममा रहेका सबै पुलबाट अहिले आवातजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ ।