
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत ढङ्गले चल्ते चलातेको तरिकाले मात्रै देशको अगाडि उत्पन्न परिस्थितिको सामना गर्न नसकिने बताएका छन् । मंगलबार पार्टी कार्यालय पेरिसडाडामा आयोजित शपथ ग्रहण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रलाई थप एकताबद्ध गर्ने, राष्ट्रिय एकता सुदृढ गर्ने, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नको लागि नितान्त नयाँ संकल्पसहित पहल कदमी लिन जरुरी रहेको बताए ।
सबैलाई एकतासाथ लिएर पार्टी अघि बढेको जनाउँदै उनले भ्रष्टाचारमुक्त जस्तो समाजको परिकल्पना सफल बनाएरै छाड्ने अठोट गरे । शपथ ग्रहणपछि अब केन्द्रीय संरचनालाई पूर्णता दिने र अन्य संगठनात्मक काममा ध्यान केन्द्रीत गर्नुपर्ने उनको भनाइ छ ।
संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले शपथ लिएपछि केन्द्रीय सदस्यहरुलाई शपथ गराइएको थियो । प्रचण्ड र नेपालले जेष्ठ कम्युनिस्ट मञ्चका अध्यक्ष एनके प्रसाईंले शपथ खुवाउदै परिचय पत्र हस्तान्तरण गरेका थिए । त्यसपछि संयोजक प्रचण्डले केन्द्रीय सदस्यहरुलाई शपथ गराएका हुन् ।