काठमाडौँ, असोज १४ :

नेपाली  काँग्रेसले बाढी पीडितहरुको राहत र उद्दारमा पार्टीको सबै शक्ति केन्द्रीत गर्ने निर्णय गरेको छ । 

पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राहत र उद्दार कार्यमा सम्पूर्ण शक्ति केन्द्रीत गर्ने निर्णय गरेको हो । बैठकले पीडितको सहयोगका लागि पचास लाख रुपैयाँ सरकारको राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ । 

त्यसका लागि सबै सांसदहरुको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरिएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

 बैठकले काँग्रेसको जारी अभियान कोजाग्रत पूर्णिमासंग स्थगन गरेर सवै भातृ संगठनलाई उद्दारमा खट्न निर्देशन दिएको छ । 

बैठकले बाढी पहिरोबाट बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र गर्न सरकारसँग माग गर्दै सबै घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउनसमेत ध्यानाकर्षण गराइएको प्रवक्ता महतले बताउनुभयो । 

काँग्रेसले सरकारको विपदबाट समस्यामा परेकाहरुलाई उद्दार कार्य प्रभावकारी नभएको भन्दै आलोचना पनि गरेको छ । सरकारको काम र तरीका नमिलेको भन्दै पदाधिकारीहरुले सरकारको विरोधसमेत गरेका थिए।

यसैबीच, नेपाली काँग्रेसले यस पटक कोजाग्रत पूर्णिमाको दिनमा गर्ने चियापान स्थगित गर्ने निर्णय पनि गरेको छ।