काठमाडौं, माघ १८ :

चाङ्वोन राष्ट्रिय विश्वविद्यालयको लिडिङ युनिभर्सिटी प्रजेक्ट फर इन्टरन्याश्नल कोअपरेटिभ लुपिकले  समावेशी शिक्षाको एक महत्वपूर्ण चुनौतीको रुपमा रहेको विशेष शिक्षा कार्यक्रमबाट पढाइ सकेकाहरूका लागि रोजगारीका अवसर विस्तारबारे छलफल गर्न चार प्रमुख नेपाली विश्वविद्यालयसँग अन्तर्राष्ट्रिय कार्यशाला आयोजना गरेको छ।

कार्यशालामा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष, डिन तथा विशेष शिक्षा विभागका प्राध्यापकहरू सहभागी भएका थिए । सहभागीहरूबीच  विशेष शिक्षालाई केवल पहुँच र अध्ययन पूरा गर्ने चरणमा सीमित नराखी दिगो रोजगारी र सामाजिक सहभागितासँग कसरी जोड्ने भन्ने विषयमा गहिरो छलफल भयो।

कार्यशालाको केन्द्रीय विषय विशेष शिक्षा कार्यक्रमबाट पढाइ सकेकाहरूका लागि रोजगारी विस्तार युनेस्को र  ओइसिडीले जोड दिँदै आएको विश्वव्यापी सहमतिसँग मेल खान्छ जसअनुसार समावेशी शिक्षा श्रम बजार, व्यावसायिक दक्षता र आजीवन सामाजिक सहभागितासँग अर्थपूर्ण रूपमा जोडिनुपर्छ।

कार्यशालामा कोरियाका विशेष शिक्षा र उपचारात्मक सहयोगका नमुनाहरू प्रस्तुत गरिएका थिए।

कङ्जु राष्ट्रिय विश्वविद्यालयका प्रोफेसर क्वाक सुङ चुलले  कोरियामा शारीरिक अपाङ्गता भएका विद्यार्थीहरूको शिक्षाको वर्तमान अवस्था विषयमा प्रस्तुति दिएका थिए। उनले विद्यालय शिक्षा, पुनर्स्थापना र व्यावसायिक तयारीबीचको प्रणालीगत सम्बन्धलाई उजागर गर्दै विशेष शिक्षा शिक्षकहरूले विद्यार्थीलाई विद्यालयबाट वयस्क जीवनतर्फ रूपान्तरणमा कसरी भूमिका खेल्न सक्छन् भन्ने कुरा प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै डाएगु साइबर विश्वविद्यालयका प्रोफेसर पार्क साङ हीले कोरियामा वाक भाषा उपचार विभाग र अपाङ्गता भएका विद्यार्थीहरूका लागि सहयोग प्रणालीको परिचय शीर्षकमा प्रस्तुती दिएकी थिइन् ।  उनले उच्च शिक्षा संस्था, चिकित्सक (थेरापिस्ट) र विद्यालयबीचको सहकार्यबाट वाक भाषा उपचार सेवा कसरी प्रदान गरिन्छ भन्ने व्यावहारिक अनुभव बताएकी थिईन् ।  जसबाट उपचारात्मक विशेषज्ञतालाई शिक्षा प्रणालीभित्र कसरी समाहित गर्न सकिन्छ भन्ने स्पष्ट हुन्छ।

यी कोरियाली उदाहरणहरूले विशेष शिक्षा स्नातकहरूले प्रत्यक्ष रोजगारीमा रूपान्तरण हुने व्यावसायिक दक्षता विकास गर्न सक्ने सम्भावनाहरुको बारेमा जानकारी गराईयो । विशेषतः विद्यालय तथा समुदायमा आधारित सहयोग भूमिका के हुन सक्छ प्रस्तुत गरिएको थियो ।

पछिल्लो नीतिगत संवादमा चारै नेपाली विश्वविद्यालय, नेपाल निजी विद्यालय संघ र लुपिकका निर्देशक जङ्ग डे यङले विशेष शिक्षा शिक्षक प्रशिक्षण कार्यक्रम सुधारका ठोस रणनीतिहरूमाथि आफ्ना कुराहरु राख्नुभएको थियो ।

कार्यक्रममा शिक्षक शिक्षा पाठ्यक्रमलाई श्रम बजारको आवश्यकतासँग अझ राम्रोसँग मिलाउनुपर्ने,विशेष शिक्षा कार्यक्रममा वाक–भाषा उपचार, कला उपचार जस्ता उपचारात्मक विषय समावेश गर्नुपर्ने,कार्यरत विशेष शिक्षा शिक्षकहरूको उपचारात्मक दक्षता सुदृढ गर्नुपर्ने,विद्यालय–आधारित अभ्यास र स्नातकहरूको रोजगारी मार्ग विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो ।

सहभागीहरूले भविष्यका विशेष शिक्षा शिक्षकहरू कक्षा शिक्षकमात्र नभई उपचारात्मक र विकासात्मक सहयोग दिन सक्ने पेशेवरका रूपमा सक्षम हुनुपर्नेमा समेत जोड दिए।

त्यसैगरी कार्यक्रममा लुपिकका नेपालका परियोजना प्रबन्धक किम युनयङ र त्रिभुवन विश्वविद्यालयको विशेष शिक्षा विभागका प्रोफेसर राम चन्द्रे गिरीले व्यावसायिक अनुवाद तथा सहजीकरण गरेका थिए । यसले कोरिया र नेपालबीचका भाषिक, सांस्कृतिक र संस्थागत भिन्नतालाई ध्यानमा राख्दै सूक्ष्म र प्रभावकारी संवाद सम्भव बनायो ।

लुपिकका निर्देशक जङ्ग डे यङले कार्यशालाको व्यापक महत्व औंल्याउँदै समावेशी शिक्षा कक्षामा विद्यार्थी राखेर मात्र नहुने बताउदै  शिक्षा अर्थपूर्ण रोजगारी र सामाजिक सहभागितामा परिणत भएमात्रै  मात्र पूर्ण हुने बताउनुभयो। रोजगारीका मार्गबिनाको समावेशीकरण अपूरो रहने समेत उहाको भनाई थियो ।

उनले  विशेष शिक्षालाई रोजगारीसँग जोड्नु अपाङ्गता भएका व्यक्तिहरूका लागि मात्र नभई शिक्षा प्रणालीको दिगोपन र विश्वसनीयताका लागि पनि अनिवार्य बिषय भएको बताउनुभयो ।

यो कार्यक्रम  दिगो विकास लक्ष्य ४  (गुणस्तरीय शिक्षा) तथा युनेस्को र  ओइसीडिका समावेशी प्रणाली, सीप विकास र विद्यालयदेखि काममा  रूपान्तरणसम्बन्धी प्राथमिकतासँग नजिकबाट जोडिन्छ। पाठ्यक्रम सुधार, उपचारात्मक दक्षता र रोजगारी नतिजामा केन्द्रित यस पहलले न्यून तथा मध्यम आय भएका देशहरूमा समावेशी शिक्षा सुदृढ गर्ने व्यावहारिक मोडेल प्रस्तुत गर्छ।

चाङ्वोन राष्ट्रिय विश्वविद्यालयको लुपिकलले नेपाली साझेदार विश्वविद्यालयहरूसँगको सहकार्य निरन्तर राख्दै उच्च गुणस्तरीय विशेष शिक्षा, स्नातकहरूको रोजगारी विस्तार र उपचारात्मक शिक्षा क्षमता विकासमार्फत अझ समावेशी र दिगो समाज निर्माणमा योगदान पुर्‍याउने योजना बनाएको छ।