
आईसीसी टी-२० क्रिकेट विश्वकपअन्तर्गत नेपाल-इंग्ल्यान्डबीचको खेल जारी छ । भारतको मुम्बइस्थित वाङ्खडे स्टेडियममा नेपालले पहिलो खेल खेलिरहेको छ ।
आफ्नो पहिलो खेलमा नेपालले जितका लागि १८५ रनको उच्च लक्ष्य प्राप्त गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनायो।
इंग्ल्यान्डका लागि ज्याको बेथहेलले ५५ रनको अर्धशतकीय इनिङ्स खेल्दा ह्यारी ब्रुक्सले पनि ५३ रनको अर्धशतकीय इनिङ्स खेले।बेथहेलले ३५ बलमा समान ४ चौका र छक्का प्रहार गर्दा कप्तान ब्रुक्सले भने ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए।
नेपालका लागि दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिँदा शेर मल्ल र सन्दीप लामिछानेले भने १-१ विकेट लिए।
यसैबीच,काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने, नन्दीकेशर बगैंचा, सिफल चौर, जुद्ध शालिक अगाडि, मखन चोक र हाँडीगाउँ डबली गरी सात ठाउँमा ठूलो स्क्रिनमा खेलको प्रत्यक्ष प्रसारण देखाइरहेको छ । पहिलो खेल हेर्ने नेपाली समर्थकहरू उत्साहित देखिन्छ । ती स्थानमा खेल हेर्न ठूलो संख्यामा नेपाली खेलप्रेमी पुगेका छन् ।आईसीसी टी–२० विश्वकप २०२६ भारत र श्रीलंकामा जारी छ ।