जनकपुरधाम, असोज १५ :

मधेस प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। मृत्यु हुनेमा एक बालिका समेत रहेकी छिन् । 

मृत्यु हुनेमा महोत्तरी र रौतहटका दुई दु्ई तथा सप्तरी र सर्लाहीका एक एकजना रहेका छन् । 

बाढीले बगाउँदा दुईजना बेपत्ता छन् भने आठ जना घाइते भएका मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले  जानकारी दिनुभयो ।

बेपत्ता हुनेमा सर्लाही र पर्साका एक एकजना रहेका छन् । 

बाढीबाट नौ पशुचौपाया समेत मरेका छन् । मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका- ८ का १६ वर्षीय रोहित साह र बर्दीबास नगरपालिका- ११ का २१ वर्षीय मानबहादुर थिङ, सप्तरीको बलान बिहुल गाउँपालिका- ४ घर भई हाल राजविराज नगरपालिका- ८ मा बस्दैआएका आठ वर्षीय प्रिन्सकुमार साह, रौतहटको दुर्गाभगवती गाउँपालिका- ४ का ३७ वर्षीय राजकुमार मुखिया र पर्रोहा नगरपालिका- ७ की १४ वर्षीया आशाकुमारी साह तथा सर्लाहीको बलरा नगरपालिका- ३  लक्ष्मीपुरका  १२ वर्षीय अङ्कित ठाकुर रहेका छन् ।  

यसैगरी सर्लाहीको बागमती नगरपालिका- ९ का १५ वर्षीय मुकेश महतो सोती खोलाले बगाउँदा बेपत्ता भएका छन् । पर्सामा एक बालिका बेपत्ता भएकी छिन् । 

आठ जिल्लामध्ये रौतहटमा तीन, सिरहामा एक, सर्लाहीमा एक तथा बारामा तीनजना घाइते भएका प्रहरी उपरीक्षक बोहोराले जानकारी दिनुभयो ।

बाढीबाट ९६ परिवारका चार सय ८८ जना विस्थापित भएका छन् । बाढीमा फसेका ३५ जनालाई उद्दार गरिएको छ ।

आजदेखि प्रदेशको जनजीवन सामान्य हुँदै गएको जनाइएको छ ।