
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारी साधन काठमाडौँ उपत्यका भित्रिएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरु सहित सवारी साधन काठमाडौँ भित्रिएको जानकारी दिनुभयो । उहाँले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
आजै दिउँसो गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बोलाउनुभएको थियो । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले बाढीपहिरो, डुबान तथा विपद्मा भइरहेको उद्धार, राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा जानकारी गराउनुभएको थियो ।
आज साँझसम्म काभ्रेपलाञ्चोकको बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा अलपत्र परेका सबै यात्रुहरूको उद्धार भइसक्ने प्रवक्ता तिवारीले बताउनुभयो ।
अहिले त्यहाँ नेपाली सेना सहित सुरक्षाकर्मीको टोली हवाई उद्धारदेखि डोरीको सहायताबाट समेत अलपत्र यात्रुहरूको उद्धार गरिरहेको छ ।
प्रवक्ता तिवारीले मौसम पूर्ण रुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गर्नुभएको छ ।