काठमाडौं, फागुन ६ :

काठमाडौं निर्वाचन क्षेत्र नम्बर- ४ का कांग्रेस उम्मेदवार सचिन तिमल्सिनाले सस्तो लोकप्रियताले देश नबन्ने दाबी गरेका छन् । बुधबार आयोजित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले  सोसल मिडियामा गाली आउँछ भनेर बौद्धिक समुदायलाई मौन नबस्न पनि आग्रह गरे ।

उनले नेपाली कांग्रेसले युवाहरूलाई अवसर दिएको र आफू पनि स्पष्ट वैचारिक र आर्थिक योजनासहित चुनावी मैदानमा उत्रिएको बताए । तिमल्सिनाले गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेताहरूको विचार र कांग्रेसको लेगेसीले आफूलाई यो आँट दिएको बताए ।

काठमाडौं क्षेत्र नं. ४ ले विगतमा देशकै अब्बल नीति निर्माता दिएको चर्चा गर्दै उनले आफू पनि अब्बल सांसद बनेर देखाउने  बताए । कांग्रेस सभापति गगनकुमार थापाले विगतमा जित्दै आएको यो क्षेत्रलाई छाडेर अहिले सर्लाही -४ बाट उम्मेदवार बनेका छन् ।